मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चितवन गइनन् पन्त, चितवनमा गुरुङ, पर्सामा पन्त

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङलाई पठाएको छ । यसअघि चितवनका प्रहरी प्रमुख रहेका दानबहादुर मल्ललाई प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा

गरेको थियो । मल्लले चितवन छाडेपछि प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जिम्मेवारी सम्हाल्दै आएका थिए । ४ पुसमा सरुवा भएका मल्लले १८ पुसमा चितवन छाडेका थिए । यसअघि प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सूचीमा चितवनको जिम्मवारी गंगा पन्तलाई दिइएको थियो । पन्तको सरुवा चितवन भए पनि तत्कालीन एसपी मल्लले जिल्ला नछोडेपछि एसपी पन्त गएकी थिइनन् । प्रधान कार्यालयले एसपी पन्तलाई पर्साको प्रहरी प्रमुखमा पठाएको छ । त्यस्तै पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरलाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ । सरुवा भएको दुई सातासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो ।

स्कुल पढ्दै, तरकारी फलाउँदै विद्यार्थी
त्रिभुवन माध्यमिक विद्यालय भुरिगाउँका कक्षा ८ मा पढ्ने अमन थारुसहित ७ जना विद्यार्थीको साप्ताहिक जिम्मेवारी छ, च्याउमा पार्ने चार्ने । विद्यालय सुरु हुनासाथ अरु विद्यार्थी पिटी प्रार्थनामा जान्छन् । अमनको टिम भने बाल्टीमा पानी र हजारी बोकेर च्याउखेती गरिएको कोठामा छिर्छन् । च्याउमा आवश्यक्ता अनुसार पानी हाल्छन् । अनी हातखुट्टा धोएर कक्षा कोठामा पस्छन् ।

यसैगरि कक्षा ८ कै कल्पना रिजालसहित ७ जनाको टिमको करेसाबारीको रेखदेख गर्ने जिम्मेवारी छ । कल्पनाको टिमले मध्यान्तरको समयमा एक सातासम्म करेसाबारीमा गोडमेल गर्ने, सिँचाइ गर्ने गर्छन् । करेसावारीमा कक्षा ८ का विद्यार्थीले बन्दागोभी, फुलगोभी, धनिया, लसुन, केराउँ र साग लगाएका छन् । कक्षा ८ का सबै विद्यार्थीलाई करेसाबारीमा काम गर्न फरकफरक समय र काम छुट्याइएको छ । आआफनो जिम्मेवारी सबैले निर्वाह गर्छन् । विद्यालयले उनीहरुलाई काममा दलाउन यसो गरेको भने होइन । आधारभूत तह कक्षा ६–८ मा रहेको पेसा, व्यवसाय र प्रविधि शिक्षाको प्रयोगात्मक पाठ्यभार पुरा गर्न तरकारी खेती गराएको हो । कक्षा ८ को पेसा, व्यवसाय र प्रविधि शिक्षामा अन्य विषयबस्तुसँगै तरकारी खेती भन्ने एकाइमा ११ वटा पाठ तरकारी खेतीसँग मात्र सम्बन्धित छ ।

यसमा च्याउखेतीदेखि लिएर गँड्यौला खेतीसम्मका सैद्धान्तिक विषय बस्तु छन् । यिनै विषय बस्तुका बारेमा प्रयोगात्मक ज्ञान दिन तरकारी खेती गरिएको त्रिभुवन माध्यमिक विद्यालयमा पेसा, व्यवसाय पढाउने महिला शिक्षक यमकला पौडेलले बताइन् । शिक्षक पौडेल भन्छिन्, ‘सैद्धान्तिक कुरा कक्षाकोठामा सिकाइन्छ । सैद्धान्तिक विषयबस्तुलाई व्यवहारमा उर्तान सक्ने बनाउन करेसाबारीमा लगेर प्रयोगात्मक कार्य गराउँछै । ’ प्रयोगात्मक कार्य गराउँदा विद्यार्थीहरुमा छिटै सिप विकास हुने गरेको उनले बताइन् । कक्षा ८ का विद्यार्थीले विद्यालयमा ४० पोकामा च्याउखेती गरेका छन् । विद्यार्थीहरुले च्याउखेतीका लागि पराल काट्ने, पखाल्ने, बफाउँने, प्लाष्टिकमा पोका पार्नेलगाएतका सबै काम आफै गरेको शिक्षक पौडेलले बताइन् । मंसिरको दोस्रोसातादेखि सुरु गरिएको च्याउँखेतीबाट अहिले धमाधम च्याउ उत्पादन भइरहेको छ । उत्पादन गरेको च्याउ यतीखेर विद्यार्थी आफैले विक्रि गरिरहेका छन् । विक्रिको हिसावकिताब पनि उनीहरुले नै राख्ने गरेका छन् । यस कामबाट विद्यार्थीहरुलाई बस्तु उत्पादनको सीपदेखि लिएर विक्रि वितरणसम्मको सिप विकास भएको विद्यालयका शिक्षक प्रदीप भण्डारी बताउँछन् ।

आफुहरुले उत्पादन गरेको च्याउ विद्यालयका शिक्षक स्टाफ, विद्यालय वरपरका मानिस र विद्यार्थीहरुमै खपत हुने गरेको कक्षा ८ का विद्यार्थी शेरबहादुर बुढाले बताए । विद्यार्थीहरुलाई च्याउखेतीका लागि ठाकुरबाबा नगरपालिकाको कृषि शाखाले विउ उपलब्ध गराएको हो । अहिले सातामा करिव १० देखि १५ केजीसम्म च्याउ उत्पादन भइरहेको विद्यार्थीहरुले बताएका छन् । हालसम्म करिव ५० किलो च्याउ विक्रि गरेको उनीहरुले बताए । विद्यार्थीहरुलाई प्रतिकेजी १ सय ५० र अन्यलाई १ सय ८० रुपैँया मुल्य कायम गरेर विद्यार्थीहरुले च्याउ विक्रि गरिरहेका छन् ।

च्याउसँगै करेसाबारीमा बन्दागाृभी र फुलगोभी पनि तयार हुने अवस्थामा छन् । भने कक्षा ७ का विद्यार्थीहरुले प्याज खेती गर्ने तरखर गर्दै छन् ।
कक्षा ८ को पेसा, व्यवसाय र प्रविधि शिक्षामा ५० अंक सैद्धान्तिक र ५० अंक प्रयोगात्मक कक्षा छुट्याइएको छ । हचुवाका भरमा प्रयोगात्मक अंक दिने परिपाटीलाई अन्त्य गर्न प्रयोगात्मक कक्षालाई अनिवार्य गरिएको विद्यालयका प्रधानाध्यापक कुशेश्वरप्रसाद चौधरीले बताए । पेसागत शिक्षाका साथै प्रविधि शिक्षामा पनि प्रयोगात्मक कार्यलाई जोड दिने गरेको प्रअ चौधरीले बताए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?