मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

फेसबुकलाई जुकरबर्गको पञ्जाबाट मुक्त गरौँ

फेसबुक जसरी पनि नाफा कमाउन चाहन्छ। उसको तरिका लोकतन्त्रका लागि खतरा बन्दै गएको छ। त्यसैले अब फेसबुकमा भएका सम्पूर्ण पोस्टको जिम्मेवारी सो कम्पनीले लिनुपर्छ। केही समयअघि स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्च आयोजना भएको थियो। सो क्रममा भएको

जर्ज सोरोस
एउटा भोजमा मलाई प्रश्न सोधियो– के सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा भन्दा अहिले फेसबुकले जिम्मेवारीपूर्वक व्यवहार गर्न थालेको हो ? ‘हुँदै होइन,’ मैले जवाफ दिएँ, ‘सन् २०१६ मा फेसबुकले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित हुन सहयोग गर्‍यो। र, अब सन् २०२० मा फेसबुकले त्यही गल्ती दोहोर्‍याउला भन्ने डर मलाई छ। मैले उनीहरूलाई यसबारे निकै लामो समयदेखि रहेको कानुनी व्यवस्था व्याख्या गरेँ। खासमा ‘कम्युनिकेसन डिसेन्सी एक्ट’ को धारा २३० ले सामाजिक सञ्जालका प्लेटफर्मलाई मानहानि र त्यस्तै आरोपको वैधानिक दायित्वबाट मुक्त गर्छ। यही कानुनका कारण फेसबुकले जानीजानी चुनाव लडिरहेका उम्मेदवारसहित अन्य व्यक्तिका झुटा र गलत अर्थ दिने वक्तव्य प्रकाशित गर्न सक्छ। र, त्यसका लागि उसले कुनै जिम्मेवारी लिनुपर्दैन। ‘ट्रम्प र फेसबुकबीच एकअर्कालाई सहयोग गर्ने अनौपचारिक सम्झौता विकास भइरहेको देखिन्छ,’ मैले भोजमा उपस्थितहरूलाई भने। सो सम्झौताअनुसार फेसबुकले ट्रम्पलाई राष्ट्रपतिमा पुनः निर्वाचित हुन सहयोग गर्नेछ। त्यसको बदलामा ट्रम्पले फेसबुकको रक्षा गर्नेछन्। नियामक निकाय र मिडियाको आक्रमणबाट फेसबुकलाई बचाउनेछन्।

मेरो यो भनाइप्रति प्रतिक्रिया दिँदै फेसबुकका एक प्रवक्ताले भनेका छन्, ‘यो सीधै गलत हो।’ उनको भनाइ ‘बिजनेस इनसाइडर’ले उद्धृत गरेको छ।
तर, म ती प्रवक्ताको भनाइसँग सहमत छैन। मलाई लाग्छ, उनीहरूको स्वार्थ एकअर्कासँग मिल्छ भन्ने राष्ट्रपति ट्रम्प र फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुवैले महसुस गरिसकेका छन्। किनभने, ट्रम्प चुनाव जितिरहेका छन्, जुकरबर्ग पैसा कमाइरहेका छन्। प्रमाणहरू हेरौँ। सन् २०१६ मा फेसबुकले ट्रम्पको चुनावी अभियानसँग आफ्नो कर्मचारीको एउटा टोली नै संलग्न गरायो। सो टोलीले ट्रम्पका विज्ञापन कार्यक्रमलाई बढीभन्दा बढी प्रयोगकर्तासम्म पुर्‍याउन सहयोग गर्‍यो। हिलारी क्लिन्टनको चुनावी अभियानले पनि फेसबुकसँग त्यस्तै सहयोगको माग गरेको थियो। तर, फेसबुकले उनको अभियान टोलीमा आफ्ना कर्मचारीको टोली खटाउन अस्वीकार गर्‍यो। ट्रम्पको सन् २०१६ को अभियानको डिजिटल डाइरेक्टर ब्राड पार्सकेलले पनि क्लिन्टनलाई पछि पार्न ट्रम्पलाई फेसबुकले सघाएको बताएका छन्। पार्सकेल सन् २०२० को निर्वाचनका लागि ट्रम्पको अभियानका व्यवस्थापक पनि हुन्। यो ट्रम्प र फेसबुकबीचको खास सम्बन्धको सुरुवाती बिन्दु थियो।

हालै आएर ट्रम्प र जुकरबर्गबीच प्रत्यक्ष सम्पर्क पनि हुन थालेको छ। यसले निकै गम्भीर सवाललाई जन्म दिएको छ। १९ सेप्टेम्बर २०१९ मा जुकरबर्गले ट्रम्पलाई ह्वाइटहाउसको ओभल अफिसमै गएर भेटे। उनीहरूबीच केकस्ता कुराकानी भए, हामीलाई थाहा छैन। तर, जनवरी २२ मा ट्रम्पले विश्व आर्थिक मञ्चको ‘साइडलाइन’मा एउटा अन्तर्वार्ता दिए। त्यसमा उनले जुकरबर्गसँगको भेटवार्ताबारे चर्चा गरेका छन्। ‘जुकरबर्गले मलाई भने, फेसबुकमा म संसारभरि नै एक नम्बर हुँ,’ ट्रम्पले भने। यसबाट हामी उनीहरूको कुराकानीको सामान्य अनुमान भने लगाउन सक्छौँ। फेसबुकले राजनीतिक विज्ञापनको तथ्य जाँच नगर्ने निर्णय गर्‍यो। यसमा पनि ट्रम्पलाई कुनै समस्या भएको बुझिँदैन। ‘जुकरबर्ग जे गरिरहेका छन्, त्यसैलाई निरन्तरता दिऊन् भन्ने म चाहन्छु,’ ट्रम्पले भनेका छन्, ‘उनले गरेको कामलाई विस्तृत रूपमा हेर्ने हो भने त्यो निश्चय नै चानचुने काम थिएन।’

सन् २०१६ मा ट्रम्पको चुनावी अभियान तथ्यांकमा आधारित सञ्चारको भरमा सञ्चालन भएको थियो। ट्रम्पले त्यो कार्यक्रमलाई अझै पनि निरन्तरता दिइरहेका छन्। जसको मुख्य हिस्सा फेसबुक पनि हो। फेसबुकले नै मतदातालक्षित विज्ञापन सम्भव बनाएको थियो। सन् २०२० को राष्ट्रपतीय निर्वाचनका लागि पनि उम्मेदवारहरूको विज्ञापनमा तथ्यजाँच गर्न नपर्ने फेसबुकको निर्णयले अनेकौँ प्रश्न जन्माएको छ। झुटा, बढाइचढाइ गरिएका, अतिवादी र घृणास्पद अभिव्यक्तिका लागि यसले ढोका खुला गरेको छ। लोकप्रियता र ‘इन्गेजमेन्ट’का लागि फेसबुक आफैँले तय गरेको अल्गोरिदमसम्बन्धी मापदण्ड पूरा गरेमा जस्तोसुकै अभिव्यक्ति र विज्ञापनले फेसबुकमा ठाउँ पाउनेछन्। त्यसभन्दा अझ डरलाग्दो पक्ष के हो भने फेसबुकको प्रारूपले त्यस्ता झुटा र उत्तेजक सामग्रीको स्रोतलाई सधैँ अँध्यारोमा राख्ने गर्छ। झुटा समाचार प्रचार गर्नेलाई उचित सजाय दिलाउन फेसबुक असफल हुने गरेको छ। यस्तो झुटको शिकार बनिरहेकालाई उचित ढंगले चेतावनी दिन पनि यो कम्पनी असफल बनेको छ।

मलाई डर लागेको एउटै विषय के हो भने फेसबुकको यस्तो अनैतिक सहयोगको सहारामा ट्रम्पले सन् २०२० को चुनाव पनि जित्नेछन्। हालै फेसबुकले आफ्नो न्युज ट्याब व्यवस्थापनका लागि दक्षिणपन्थी व्यक्तिहरूलाई काममा राखेको छ। यसले पनि मेरो डर अझ बढाएको छ। फेसबुकले अमेरिकामा मात्रै होइन, विश्वका अन्य मुलुकको लोकतन्त्रमा पनि क्षति पुर्‍याएको डाभोसको टिप्पणीमा मैले उल्लेख गरेको थिएँ। उदाहरणका लागि म्यानमारलाई लिन सकिन्छ। जहाँ सैनिक अधिकारीहरूले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्याविरुद्ध घृणा फैल्याउन फेसबुक प्रयोग गरेका थिए। सैनिकहरूले रोहिंग्यामाथि बर्बर र अतुलनीय दमन गरेका छन्। हत्या र बलात्कारले यो समुदाय तहसनहस भएो छ। उनीहरूको सिंगै गाउँ जलाइएको छ। करिब सात लाख रोहिंग्या देश छोडेर बंगलादेशमा शरण लिन बाध्य भएका छन्। द हेगस्थित इन्टरनेसनल कोर्ट अफ जस्टिसले सो दमन आम नरसंहारको दायराभित्र पर्छ कि पर्दैन, अहिले विचार गरिरहेको छ।

गत वर्ष फेसबुकले आफ्नो मोबाइल एपमा नयाँ फिचर थपेको छ। जसले घृणास्पद र उत्तेजक राजनीतिक आक्रमणलाई झनै बढाउने छ। किनभने, त्यो फिचरले त्यस्ता पोस्टलाई फैलाउन सजिलो बनाएको छ। यो प्रणाली पोस्ट गर्ने व्यक्तिका लागि निःशुल्क छ। सँगसँगै फेसबुकका लागि भने आम्दानी बढाउने खालको छ। यहाँ दुवैको स्वार्थको मिलन भएको छ। जुन, फेसबुकका लागि असाध्यै फाइदाजनक र लोकतन्त्रका लागि हानिकारक छ। फेसबुकलाई जिम्मेवार बनाउनु कठिन काम होइन। फेसबुक त्यस्तो प्रकाशक हो, जो तटस्थ मध्यस्थकर्ता वा प्लेटर्फम मात्र होइन। उसको साइटमा जेजस्ता सामग्री देखापर्छन्, ती सबैका लागि फेसबुकलाई जिम्मेवार ठहर्‍याइनुपर्छ। जनवरी २२ मै डाभोसको एक ककटेल पार्टीमा बोल्दै फेसबुककी चिफ अपरेटिङ अफिसर सेरिल स्यान्डबर्गले भनेकी थिइन्, ‘फेसबुक यो संसारलाई अझ राम्रो स्थान बनाउन प्रयासरत छ।’ उनले कुनै नयाँ कुरा भनेकी थिइनन्। यो सिलिकन भ्यालीको क्लिसे नै भइसकेको छ। त्यसैले फेसबुकले के भन्छ भन्ने आधारमा होइन, के गर्छ भन्ने आधारमा यो कम्पनीको मूल्यांकन हुनुपर्छ।

जुकरबर्ग र स्यान्डबर्गको नेतृत्वमा रहेको फेसबुकमाथिको आरोप म पुनः दोहोर्‍याउन र पुष्टि गर्न चाहन्छु। उनीहरू एउटा मात्र मार्गनिर्देशक सिद्धान्त पछ्याउँछन्– जसरी हुन्छ, नाफा कमाऊ। नतिजा जेसुकै होस्। तसर्थ, जसरी हुन्छ, फेसबुकको सम्पूर्ण नियन्त्रण जुकरबर्ग र स्यान्डबर्गको हातमा छोडिनु हुँदैन। (‘न्युयोर्क टाइम्स’बाट। सोरोस हंगेरियन–अमेरिकन अर्बपति परोपकारी हुन्। उनी विश्वभर लोकतन्त्र प्रवद्र्धन गर्ने संस्था ओपेन सोसाइटी फाउन्डेसनका संस्थापक र अध्यक्ष पनि हुन्। अनुवादः कवि आचार्य )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

You may have missed