मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

बेलायती सेनामा भर्ती हुने नेपाली चेली !

ब्रिटिस आर्मीको इन्टेक २०२० का लागि पोखरामा भएको केन्द्रीय छनोटबाट ४ सय ३२ जना गोर्खाली ठिटा बेलायती सेनामा भर्ती भए। सँगसँगै १ सय २० सिंगापुरे पुलिसका लागि छानिए यो वर्ष। माघ १७ गते यो नतिजा सार्वजनिक हुँदा ब्रिटिस आर्मी बन्ने सपना सजाएका युवतीको मनमा

भने खुसी छाएन। हृष्टपुष्ट पुरुष युवा जसरी काँधमा काँध मिलाउन तम्तयार किशोरीहरुले पनि यसपालि बेलायती सेनामा भर्ती हुने सपना देखेका थिए, तर सपना केवल सपनामै सीमिति रह्यो। बेलायत सरकारले इन्टेक २०२० मा नेपाली युवतीलाई पनि भर्ती लिने सूचना जारी गरेको थियो। यसबारे बेलायती पत्रपत्रिका र नेपालका राष्ट्रिय पत्रपत्रिकामा खबर आएका थिए। तिनै खबरका आधारमा प्रतिस्पर्धामा उत्रिने सपना देखेका नेपाली युवतीको सपना पूरा नहुनुको कारण यो वर्ष पनि बेलायती सेनामा महिलालाई भर्ती नलिनु हो। बेलायतले नेपाली युवतीलाई पनि सन् २०२० देखि भर्ती लिने बताएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्धन समितिले नेपाली महिलालाई बेलायती सेनामा नपठाउन निर्देशन दिएको थियो।

लोभलाग्दो आम्दानीका कारण धेरै आदिवासी जनजातिको आकर्षणको पेसा बनेको बेलायती सैन्य सेवामा भर्ती हुन महिलालाई पनि खुला गरिने खबरले देदशभरका सहरहरुमा थुप्रै युवतीको ध्यान खिचेको थियो। यस्तो खबर पाएपछि पोखरा, काठमाडौं, धरान, बुटवल, दाङलगायतका सहरमा विभिन्न इन्स्टिच्युटले बेलायती सेनामा भर्ती हुन आवश्यक पूर्वाधारबारे शारीरिक र बौद्धिक तालिम दिएका थिए। लाहुरे ट्रेनर विशाल रोकामगरका अनुसार धेरैजसो प्लस टु पढ्दै गरेका र बिए पढ्न थालेका केही युवतीले बेलायती सेनामा भर्ती हुन रुचिका साथ तालिममा भाग लिएका थिए।

पोखरामा तीन दर्जनभन्दा बढी त्यस्ता इन्स्टिच्युट थिए, जसले बेलायती सेनामा भर्ती हुनेका लागि तालिम दिन्थे। धेरै पुरुष र थोरै महिलालाई तालिम दिएका त्यस्ता संस्थाहरुमा केही मात्रामा युवतीहरुले तालिम लिएका थिए। पोखरा बाहिरका धरान, काठमाडौं, दाङ लगायतका सहरमा गरी त्यस्तो चाहना राख्ने महिलाको संख्या करिब २ हजार थियो। जुनियर गोर्खा ट्रेनिङ सेन्टरका सञ्चालक राजु थापाका अनुसार सेन्टरमा पाँचजना युवतीले तालिम गरिरहेका छन्। ‘भर्ती खुल्ने भन्ने खबर पाएपछि उनीहरुले तालिम गरेका हुन्। भर्ती नलिने भएपछि तालिम नगराउने भनेको थिएँ तर, उनीहरुले नेपाली सेनाका लागि तयारी गर्दैछन्’ राजु भन्छन्, ‘दुईजना आइए पास भएका छन्। उनीहरु ब्रिटिस आर्मीमा नपाएपछि नेपाली सेनाको सेकेन्ड लेफ्टीनेन्टमा भर्ती हुनका लागि तालिम गरिरहेका छन्।

नेपालका पहाडी जनजातिहरुमा लाहुरे ज्वाइँकै लागि मात्रै पनि मरिहत्ते गर्ने संस्कृति भएका बेला छोरीलाई समेत भर्ती लिने खबरले थुप्रै अविभावकको ध्यान मात्रै खिचेको थिएन। महिलाहरु पनि लाहुरेनीको सट्टा आफैँ लाहुरे हुने सपना साँच्न थालेका थिए। बेलायती सेनामा आकर्षक पारिश्रमिक र स्थायी बसोबासको व्यवस्थासमेत भएकाले युवाहरुको आकर्षण हुँदै आएको छ। खोजीखोजी लाहुरेसँग बिहे गरिदिन खोज्ने चेलीका आमाबुवालाई छोरीलाई पनि भर्ती लिने खबरले हौस्याएको थियो। ‘नेपाली युवतीलाई भर्ती सन् २०२० देखि भर्ती लिने खबरले हामी खुसी थियौं तर, यसपटक भर्ती लिएन’ पोखरा रामबजारका कर्णबहादुर राना भन्छन्, ‘महिला पुरुषमा कुनै भेदभाव छैन, त्यसैले आशा छ बेलायतले आगामी वर्ष नेपाली युवतीका लागि भर्ती खोल्नेछ।’

बेलायती सेनाले सन् २००७ सालको चैत महिनामा पनि पहिलोपटक सार्वजनिक गरेको सूचनामा नेपाली युवतीलाई भर्ती लिने बताएको थियो। दोस्रोपटक अघिल्लो वर्ष महिलालाई भर्ती लिने योजना सुनाए पनि नेपाल सरकारले अनुमति दिएन। दुई सय पाँच वर्षदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’मा पहिलोपटक नेपाली महिलालाई भर्ती गरिने खबर फैलिएपछि धेरै खुसी भएका थिए। तर, यो पटक पनि त्यो खबर सत्य सावित भएन। केही महिना पहिले बेलायती रक्षामन्त्री गेभिन विलियमसनले बेलायती महारानीको रक्षार्थ लामो समयदेखि खटिएका गोर्खाहरू विश्वमै उत्कृष्ट लडाकु दस्ता भएको बताउँदै यस्तो विशिष्ट समूहमा महिलालाई उचित अवसर हुने बताएका थिए। त्यसलगत्तै नेपाली महिलालाई बेलायती सेनामा भर्ती लिनेबारे खबर बाहिर आएको थियो। तर, आगामी दिनमा नेपाली युवतीलाई भर्ती लिने नलिनेबारे बेलायत सरकारको आधिकारिक धारणा आइसकेको छैन। ‘यो विषयमा हामीलाई कुनै जानकारी छैन। यो बेलायती रक्षा मन्त्रालयले गर्ने निर्णय हो। हामीलाई यसबारे कुनै आदेश छैन’ पोखरास्थित ब्रिटिस क्याम्पका प्रमुख डिआरो मेजर स्याण्डी नाइटिङ्गेल भन्छन्।

पोखरामा गरिने भर्ना प्रक्रिया सहज भने छैन। यदि भर्ती लिइहाले शारीरिक बनावट आकर्षक मात्र होइन, आवेदन दिएका महिलाले २५ केजी बालुवा डोकोमा बोकेर झन्डै पाँच किलोमिटर उकालो दौडिनुपर्छ। अन्य कठिन अभ्यास पनि छन्। पोखरामा छानिएर गइसकेपछि बेलायतको नर्थ योर्कसायरस्थित क्याट्रिकमा १० महिनाको प्रशिक्षण पार गरेपछि मात्र योग्य हुने प्रावधान छ। ब्रिगेड अफ गोर्खाजमा सैनिक संख्या न्यून हुँदै जाँदा उक्त संगठन बलियो बनाउन महिलालाई पनि भर्ना लिने निष्कर्षमा बेलायत सरकार पुगेको बताइएको छ। सन् १८१५ मा बेलायती जनरल अक्टरलोनी र गोर्खाली सेनाका सरदार अमरसिंह थापाबीच सम्झौता भएपछि नेपालीहरु तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारमार्फत ब्रिटिस सेनामा भर्ती हुन थालेका थिए।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?