मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

दिल्लीमा केजरीवाललाई दुईतिहाई, बीजेपीको दुई रुपैयाँ किलो आँटा बिकेन !

काठमाडौं । ‘यी सबै सर्वेक्षण गलत हुनेछन्, मेरो यो ट्विट सम्हालेर राख्नुहोला, भारतीय जनता पार्टीले ४८ सिटसहित दिल्लीमा सरकार गठन गर्नेछ । कृपया इलेक्ट्रोनिक भोटिङ मेशिनलाई दोष दिने बहाना नखोज्नुहोला ।’ भारतीय जनता पार्टी (भाजपा) दिल्ली अध्यक्ष मनोज

तिवारीले गत शनिबार विधानसभाका लागि मतदान भएकै दिन गरेको ट्विट हो, यो ।लोकसभा सदस्यसमेत रहेका तिवारीले भनेजस्तै दिल्लीमा कम्तीमा ४८ सिटसहितको सरकार बन्ने पनि पक्कापक्की भयो, तर भाजपाको होइन, आम आदमी पार्टी (आप) को ।मंगलबार साँझसम्म ५८ स्थानको परिणाम सार्वजनिक हुँदासम्म आपले ५२ र भाजपाले ६ स्थानमा जित हासिल गरेका छन् । सन् २०१५ को विधानसभामा ६७ स्थानमा जितेको आपले केही सिट कम जिते पनि आगामी पाँच वर्ष सत्ताको बागडोर हाँक्ने सुनिश्चित भइसकेको छ ।कुल ५४५ सदस्यीय लोकसभामा भाजपाका ३०३ सांसद छन् । २०१९ मा सम्पन्न लोकसभा चुनावमा दिल्लीका सात मध्ये सातै स्थानमा भाजपाले जीत हासिल गरेको थियो । तर, विधानसभाको चुनावमा आम आदमीले बाजी मार्‍यो ।

कामलाई भोट ?
अन्ना हजारेको भ्रष्टाचारविरोधी अभियानको जगमा २०१२ मा स्थापना भएको आपले दिल्लीमा के त्यस्तो गर्‍यो ? जसका कारण भाजपाको राप र ताप त्यहाँ चलेन ?दुई रुपैयाँ किलो आँटा उपलब्ध गराउने भाजपाको नारालाई मतदाताले विश्वास गरेनन् । जसले गर्दा मनोज तिवारीले भनेजस्तो बीजेपीलाई ४८ सिट पनि आएन, आपलाई बहुमतबाट रोक्न पनि सकेन ।
विधानसभा निर्वाचनअघि मुख्यमन्त्री अरविन्द केजरीवालले मतदातालाई सम्बोधन गर्दै भनेका थिए, ‘कामका लागि भोट दिनुस्, यदि हामीले काम गरेका छैनौं भने भोट नदिनुहोस् ।

आधाआधी मतगणना सकिएपछि केजरीवाल ट्विट गरे– आज दिल्लीवालाले नयाँ राजनीतिलाई जन्म दिएका छन्– कामको राजनीति ।
‘आफ्ना छोरोलाई यति धेरै माया दिनुभएकोमा दिल्लीवासीलाई ह्रदयदेखि नै धन्यवाद । आज दिल्लीवालाले नयाँ राजनीतिलाई दन्म दिएका छन्–कामको राजनीति’ उनले ट्विटरमा लेखेका छन् ।

केजरीवाल सरकारको काम
‘मेरो भोट कामलाई, सिधै केजरीवाललाई’ आपले विधानसभा चुनावमा यस्तै नारा लगायो । स्वास्थ्य, शिक्षा, बिजुली, पानी, फोहोर व्यवस्थापन जस्ता क्षेत्रमा गरेको कामको आधारमा आपले यस्तो नारा लगाउने हिम्मत गरेको हो ।दिल्लीमा २०० युनिटसम्म प्रयोग गर्नेलाई बिजुली निशुल्क छ । २०१९ अगस्तदेखि लागु भएको व्यवस्थाले मतदाताको ठूलो हिस्सालाई प्रभावित गरेको विश्लेषण गरिएको छ ।आपको सरकार बनेपछि सार्वजनिक यातायात पनि सुधार देखियो । कतिपय सार्वजनिक यात्रा निःशुल्क गरे ।

२० हजार लिटरसम्म पानी प्रयोगकर्ताले पनि शुल्क तिनुपर्ने पर्दैन । पछिल्लो छ महिनामा केजरीवाल नेतृत्वको सरकारले ४०० भन्दा बढी स्वास्थ्यचौकी स्थापना गर्‍यो ।सामुदायिक विद्यालयको २० हजार नयाँ भवन बनाएको आपको दाबी छ । आपले यो योजना अन्य राज्यमा पनि लागु गर्ने आश्वासन दिएको थियो ।
झण्डै पौने दुई करोड जनसंख्या रहेको दिल्लीवासीलाई निःशुल्क सेवा दिने रकम कहाँबाट आयो ? धनीसँग उठाएको करले करिब पोस्न मिल्छ ? भन्ने प्रश्नमा केजरीवालको जवाफ छ– मेरो सरकार बनेपछि एक रुपैयाँ कर बढेको छैन, यो सबै पैसा भ्रष्टाचार नियन्त्रण हुँदा संकलन भएको हो ।

‘घृणा र हिंसाको राजनीतिलाई बाईबाई’
सुरुवाती गणनामै आपको विजय र भाजपा पराजय हुने रुझान देखिएपछि भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले घृणा र हिंसाको राजनीतिलाई दिल्लीवासीले सुहाउँदो जवाफ दिएको प्रतिक्रिया जनाए ।

कांग्रेस सांसद अधीर रञ्जन चौधरी भाजपाको हार र आपको जितबाट सन्तुष्ट देखिन्छन् । ‘आपको जित अपेक्षित नै हो, काँग्रेसको पराजयले राम्रो सन्देश दिएको छैन’ उनले भनेका छन्, ‘तर भाजपाको साम्प्रदायिक एजेण्डामाथि आपको जित महत्वपूर्ण छ ।’

केजरीवाललाई बधाई दिने क्रममा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि भाजपालाई अस्विकार गरेका जनताले सीएए, एनआरसी र एनपीआरलाई पनि नस्विकार्ने धारणा राखिन् ।

बिकेन दुई रुपैयाँ किलो आँटा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केजरीवाल सरकारले दिल्लीवासीको आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन् । आपलाई बधाइ दिँदै उनले लेखेका छन्, ‘दिल्ली विधानसभा चुनावमा जितका लागि आप र अरविन्द केजरीवाललाई बधाई । दिल्लीवासीको आकांक्षा पूरा गर्नका लागि शुभकामना छ ।’

दुई रुपैयाँ किलो आँटा उपलब्ध गराउने भाजपाको नारालाई मतदाताले विश्वास गरेनन् । जसले गर्दा मनोज तिवारीले भनेजस्तो बीजेपीलाई ४८ सिट पनि आएन, आपलाई बहुमतबाट रोक्न पनि सकेन ।

गत निर्वाचनमा तीन सिटमा खुम्चिएको भाजपाले आठ स्थान जित्नु भनेको झण्डै दुई सय प्रतिशत बढी सफलता प्राप्त गर्नु हो । तर, लोकसभा निर्वाचन र विधानसभाकै विगतको परिणाम केलाउँदा भने यो चर्चा योग्य उपलब्धी होइन ।

२०१३ मा ३१ सिट जितेको भाजपा विधानसभामा सबैभन्दा ठूलो दल बनेको थियो । २००८ मा २३, २००३ मा २० र १९९८ मा १५ सिट सहित दिल्लीमा भाजपा प्रमुख प्रतिपक्षी दल थियो । १९९३ को चुनावमा भाजपाले ४९ स्थानमा जित हासिल गरेको थियो ।

काँग्रेसलाई दिल्ली दुर
आपले २०० युनिट बिजुली निःशुल्क गरेको देखेपछि कंग्रेसले ३०० युनिट बिजुलीको शुल्क नलिने घोषणा गर्‍यो । आपको नक्कल गरिएको यो नाराले मतदाता आकर्षित भएन ।लगातार दुई वटा विधानसभामा खाता खोल्न नसकेको काँग्रेसको अघिल्लो निर्वाचनमा भन्दा झण्डै आधा भन्दा बढी मत घटेको छ । अघिल्लो निर्वाचनमा १० प्रतिशत भोट पाएको कंग्रेसको भागमा यसपटक ४ प्रतिशत भोट आएको छ ।

यसले देखाउँछ, १९९८ मा यता लगातार १५ वर्ष शासन गरेको कंग्रेसका लागि दिल्ली अझै दुर छ । १९५१ म पनि कंग्रेसले ४७ स्थानमा जित हासिल गरेको थियो ।आपको भविष्य भने भारी बहुमतले केजरीवाल हौसिन्छन् कि मोदीले भनेजस्तै दिल्लीवासीको आकांक्षा पुरा गर्नमा लाग्छन् भन्नेमै निर्भर गर्दछ ।

एजेन्सीहरुको सहयोगमा

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?