मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

‘२० रुपैयाँको औकात नहुनेले २० लाख पारिश्रमिक माग्छन्’

1 min read

नेपाली फिल्ममा राम्रो क्रेज रहँदा नै अभिनेता विराज भट्टले भोजपुरी फिल्म उद्योगको बाटो तताएका थिए। बीचका पाँच–सात  वर्ष पूर्णतः भोजपुरी फिल्ममा व्यस्त उनी तीन वर्षयता भने नेपालमा स्टारडम टिकाउने संघर्षमा छन्। तीन वर्षअघि ‘जय परशुराम’मार्फत नेपाली फिल्ममा पुनरागमनको प्रयास गरेका उनको यो प्रयास असफल मानिएको थियो। तर, उनले हिम्मत हारेका छैनन्। फिल्म  ‘साङ्लो’ मार्फत फेरि एक पटक दर्शकमाझ जाँदै छन् र उनलाई विश्वास छ– फिल्मले ‘विराजका दिन गए’ भन्नेलाई  मुखभरिको जवाफ दिनेछ। फिल्ममा उनी अभिनयसँगै निर्माता र निर्देशकको तेहरो भूमिकामा छन्। ‘अन्नपूर्ण सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेनासँग विराजले नयाँ फिल्म र नयाँ अनुभवबारे खुलेर कुरा गरेका छन्।


‘जय परशुराम’को असफलतालाई तपाईंले ‘सिरियस्ली’ लिएजस्तो छ। हिरो मान्छे एकैचोटि निर्माता-निर्देशकमा छलाङ लगाउनुभयो। 

त्यो कारणले हैन। जहाँसम्म ‘जय परशुराम’को कुरा छ, यो फिल्म हिट भयो भनेर भन्दिनँ तर धेरै फ्लप फिल्मको तुलनामा यसको सेयर हिसाब गर्ने हो भने धेरै नै राम्रो छ। अरूको फ्लप फिल्मको सेयर हेर्नुस् र ‘जय परशुराम’को सेयर हेर्नुस्, धेरै कुरा छर्लंग हुन्छ। फ्लप हुँदा पनि हलबाट करोड छेउछाउ निर्मातालाई पैसा आएको छ। हाम्रो खालको फिल्ममा लगानी धेरै हुन्छ। त्यही कारण सबै पैसा उठेन होला। तर, म निर्माता र निर्देशक बन्नुमा अघिल्लो फिल्मको केही हात छैन।

कलाकार निर्माता बन्ने कुरा आम हो। संसारभर अभ्यास छ।  तर, कलाकार निर्देशक बन्दा बोझ चौबर हुन्छ। कत्तिको गाह्रो भयो ? 

एकदमै गाह्रो। तीनटा कुर्सीमा एक्लै बस्दा प्रेसर धेरै नै हुँदो रहेछ। मेरो पहिलो रुचि अभिनय नै हो। रहरले भनूँ वा बाध्यताले, यो पटक अरू पनि काम गर्नुपर्‍यो। तर, तीनटामा पनि पर्दामा देखिने भनेको त कलाकार नै हो। निर्माता–निर्देशक जति थाके पनि पर्दामा देखिनुपर्दैन। तर, कलाकार देखिनुपर्छ। निर्माण र निर्देशन गर्ने चक्करमा विराज भट्ट नामको कलाकार चाहिँ राम्रै पेलानमा पर्‍यो। निर्देशक भएपछि आफ्नो काम मात्र सकेर नहुने। अरूको पनि हेर्नुपर्ने। रातभर–दिनभर खट्नुपर्ने। समग्रमा चाहिँ राम्रो अनुभव रहेन। अब अभिनय पनि र निर्देशन पनि सायदै गरिन्छ।

वितरकले पनि कलाकारलाई निर्देशन गर्न उचाल्ने गरेका छन्। तपाईंलाई पनि अरूले नै उचालेका त होइनन् ? 

होइनन्। यो मेरो स्वविवेकले गर्छु भनेको कुरा हो। धेरै वर्षसम्म म के भ्रममा रहेछु भने कलाकारले मेहनत गर्‍यो भने फिल्म राम्रो भइहाल्छ। कलाकार पर्दामा देखिने हुनाले उसले मेहनत गर्‍यो भने सबै कमजोरी ढाकिन्छ। मेहनतले हरेक चिज सम्भव हुन्छ। तर, केही वर्षयता त्यो भ्रमबाट मुक्त भएँ। कलाकारसँगै निर्देशकले पनि उत्तिकै मेहनत गर्नुपर्ने रहेछ। नेपालमा अर्को फिल्म बनाउने सोच बनाएपछि बजारमा भएका निर्देशकमा मैले नजर नलाएको हैन। तर, मेरो सोचमा फिल्म बनाउन सक्ने निर्देशकमा ढुक्क हुन सकिनँ। मेरो सोचको फिल्म म आफैँले मात्र बनाउन सक्छु भन्ने लागेपछि आफैँ निर्देशन गर्ने निर्णयमा पुगेको हुँ।

तर,  ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तो सुटिङ सुरु नहुँदै प्रोडक्सन म्यानेजरलाई हातपात गर्नुभयो। सुटिङमा पनि गाउँपालिकाको बजेट खाएको आरोप लाग्यो नि ?

पहिलो कुरामा मलाई केही भन्नु छैन। आवेशमा आएर जे भयो–भयो, त्यसमा मैले माफी पनि मागेँ। शंकर पाण्डेजीसँग गुनासो केही छैन। जहाँसम्म डोटीको गाउँपालिकाको बजेटको कुरा छ, त्यो अध्यक्षले फिल्म खेलेबापत दिएको पैसा हैन। सरकारले दिएको पैसा हो, त्यो पनि ठाउँको प्रचार गर्न। म त भन्छु, सरकारले यस्ता हरेक फिल्मलाई पैसा दिनुपर्छ, जसले ओझेलमा रहेका गाउँठाउँलाई चिनाउँछन्।

फिल्म रिलिजको सँघारमा छ। कस्तो लागिरहेको छ ?

अब त उत्साह मात्र बाँकी छ। फिल्मका गीत र ट्रेलरलाई हामी मिनी रिलिज मान्छौँ। यस हिसाबले हेर्ने हो भने फिल्मको परिणामलाई लिएर म आशावादी छु। गीत र ट्रेलरमा दर्शकको जसरी प्रतिक्रिया आएको छ, त्यसले हामीलाई सन्तोक दिएको छ। बाँकी कुरा त शुक्रबारपछि थाहा हुन्छ।

नेपाली फिल्ममा तपाईंको सक्रियतापछि धेरैले तपाईंले भोजपुरी फिल्ममा पनि काम पाउन छाडेको टिप्पणी गरेका छन्। त्यस्तो हो र ?  

यो गलत कुरा हो। यी हेर्नुस्… (विराजले मोबाइल निकालेर एउटा भिडियो देखाए, जहाँ उनी भोजपुरी अभिनेत्री काजल राघवानीसँग हरियो चौरमा रंगीचंगी लुगा लगाएर नाचिरहेका थिए )। यो मैले २० दिन अगाडि खिचेको फिल्मको गीत हो। यो फिल्मको सुटिङ सकेर मैले उता दुइटा फिल्म खेलेर आइसकेँ। ‘दबंग ३’ चलिरहँदा म मुम्बईमा धमाधम सुटिङ गरिरहेको थिएँ। सुटिङमा व्यस्त भएका कारण मैले सीधै युट्युबमा ट्रेलर रिलिज गरेको थिएँ। अहिले पनि म उता व्यस्तै छु। तर, साँचो कुरा के हो पहिलाभन्दा कम फिल्म गर्छु। तपाईं सधैँ एकनासले काम गर्नुहुन्छ र ? अलि–अलि अप्स एन्ड डाउन्स त भइरहन्छ नि।

भोजपुरी फिल्मसम्म कसरी पुग्नुभयो ? 

वीरगञ्जतिरै हो क्यार, ‘अग्निज्वाला’ भन्ने नेपाली फिल्मको सुटिङ भइरहेको थियो। रमाकान्त प्रसाद भन्ने भोजपुरी फिल्मको निर्माता आउनुभयो र फिल्म गरौँ भन्नुभयो। खासमा उहाँ वितरक हुनुहुँदो रहेछ। त्यसैले नेपालका कलाकारबारे पनि जानकारी राख्नुहुन्थ्यो। उहाँले नै निर्माण गरेको फिल्म ‘लागल रहे राजाजी’बाट मेरो भोजपुरी फिल्मको यात्रा सुरु भयो।

व्यापार वा प्रतिक्रिया कस्तो थियो ? 

सुपरडुपर हिट। पहिलो फिल्मले नै सिल्भर जुबिली मनायो। सन् २००८ तिर रिलिज भएको हो जस्तो लाग्छ, यो फिल्म। निरहुवा ( दिनेशलाल यादव) र म थियौँ फिल्ममा। निरहुवा उसबेला नै स्टार थिए। मान्छे उनैको फिल्म हेर्न भनेर आए तर फिल्म हेरेपछि मेरो फ्यान भएर निस्किए। त्यसयता त भोजपुरीमा मेरो डिमान्ड बढिहाल्यो।

अहिलेसम्म कति वटा भोजपुरी फिल्म गर्नुभयो ? 

रेकर्ड राख्ने गरेको छैन, तर ५० भन्दा बढी भयो होला।

बोलेको बुझिए पनि भोजपुरी बोल्न गाह्रै छ। फिल्म गर्दा भाषाले दुःख दिएन ? 

त्यस्तो ठूलो समस्या त भएन। मैले ग्य्राजुएसनसम्मको पढाइ भारतको देहरादूनबाट पूरा गरेको हुँ। भारतमा लामो समय बसेकाले मेरो हिन्दी राम्रो थियो। यसले कुरा गर्न अप्ठेरो भएन। झट्ट सुन्दा भोजपुरी फिल्मको उद्योग बिहारतिर छ भनेजस्तो लागे पनि बलिउडजस्तै यसको पनि केन्द्र मुम्बई नै हो।

 तर, तपाईंका सुरुसुरुका फिल्ममा आवाज अर्कैको छ।

हो। मेरा सुरुका फिल्ममा अर्कैको डब छ। अलि पछि हो, आफैँले गर्न सक्ने भएको। अहिले त फरर जान्छ।

दुवैतिरको काम गर्ने शैलीसँग परिचित हुनुहुन्छ। यता र भोजपुरीमा काम गर्ने तरिका कता सजिलो ?

भोजपुरीमा अलि व्यवस्थित छ। प्रिप्रोडक्सनमा अलि धेरै होमवर्क गर्छन् उनीहरू। वर्किङ आवर पनि धेरै छ। हामी नेपालमा घाम उदाएपछि काम सुरु गर्छौं र अस्ताएपछि प्याकअप गर्छौं। उता बिहानदेखि मध्यरातसम्म सुटिङ गर्छन्। सबैभन्दा ठूलो कुरा त उता निर्मातालाई कम रिस्क छ। म्युजिक र टेलिभिजन अधिकारबापत आउने पैैसाले निर्माता लगभग सुरक्षित हुन्छ। कलाकार पनि अनुशासित छन्। यता पो बजारमा २० रुपैयाँ नउठाउने, २० रुपैयाँको औकात नहुने कलाकारले २० लाख पारिश्रमिक माग्छन्। उता त्यस्तो छैन।

तपाईं चाहिँ उता कति पाउनुहुन्छ ? 

समाचारमा पढ्नुभएको छैन ? भारतीय अखबारतिर पनि आइरहेको हुन्छ त।

तपाईंकै मुखबाट सुनौँ भनेर नि।भोजपुरी फिल्म गरिरहेकाहरू बिस्तारै बलिउड र साउथको उद्योगमा पनि जमिरहेका छन्। तपाईं कोसिस नगर्ने ? 

मलाई यतिबेला आएर ‘जा है गर्नुपथ्र्यो’ भन्ने लागेको छ। तर, जतिबेला भोजपुरीमा व्यस्त थिएँ, त्यतिबेला यस बारेमा सोचिनँ। एउटा म्यानेजर राखेर कोसिस गरेको भए हुन्थ्यो होला। उतिबेला फिल्म खेल्नै व्यस्त भएँ। अहिले एकचोटि कोसिस गरौँ भन्ने लागेको छ। सायद अब गर्छु। त्यसैले अहिले ‘साङ्लो’लाई हिन्दीमा डब गरेर चलाउने ध्याउन्नमा छु।

भोजपुरीमा पनि यो फिल्म लगाउने होला नि

त्यो त मेरो पकेटको कुरा हो। जतिबेला पनि गर्न सक्छु। तर, हिन्दीमा डब गरेर हलमा पनि लगाउने र च्यानललाई पनि बेच्ने गर्न सकियो भने आर्थिक रूपमा पनि फाइदा हुन्छ। त्यसैले हिन्दीमा फोकस्ड छु।

बाहिरतिर कलाकार निर्माता भयो भने अलि सार्थक सिनेमा बनाएको देखिन्छ। तर, नेपालमा चाहिँ तपाईंहरू उही बासी विषयमा फिल्म बनाउनुहुन्छ भन्ने आरोप छ। 

के गीत र फाइट नहुँदैमा तपाईंले भनेको सार्थक सिनेमा हुन्छ ? के गम्भीर विषयमा गीत र फाइट राख्दैमा त्यो चाहिँ ‘मिनिङफुल’ सिनेमा नै हुन्न ? अहिले ‘मिनिङफुल’ सिनेमा खेलिरहेका एक्टरलाई तपाईंले सिक्स प्याक एब्समा प्रस्तुत गर्नुभयो भने त्यो परम्परागत सिनेमा त हुन्न होला नि। अरुले नबुझ्ने आफैँले मात्र बुझ्ने सिनेमालाई मात्र ‘मिनिङफुल’ मान्न म चाहिँ तयार छैन। ‘साङ्लो’ जस्तो सिनेमा जो कोहीले बनाउन पनि सक्दैन। यसमा तेब्बरचौबर मेहनत लाग्छ।

तुलसी घिमिरेले त तपाईंलाई ‘हिरो नै बन्दैनस्’ भन्नुभएको थियो क्यार। तर, तपाईंले बनेर देखाउनुभयो, हैन ? 

हो। उहाँले भन्नुभएको हो। तर, पछि उहाँले नै ‘मृगतृष्णा’ भन्ने फिल्म खेलाउनुभयो। अरू पनि थुपै्र हुनुहुन्थ्यो, जसले मलाई ‘हिरो हुँदैनस्’ भनेर सीधा भन्न नसकेर भिलेनको रोल अफर गर्नुहुन्थ्यो। तर, मलाई हिरो नै बन्नु थियो। बरु जतिसुकै सानो रोल गर्नुपरे पनि गर्छु तर भिलेनको रोल चाहिँ गर्दिनँ भन्ने थियो। नभन्दै गर्न परेन पनि।

सानो–सानो रोल त टन्नै गर्नुभयो। 

गरेँ। खै कसरी हो, अभिनय गर्ने नशा लागिहाल्यो। हट्टाकट्टा देखेर बुबालाई छोरो प्रहरीमा गए हुन्थ्यो भन्ने लागेको थियो। धेरैचोटि भन्नु पनि भो। तर, एकचोटि त ट्राई गर्नैपर्छ भनेर म धनगढीबाट काठमाडौँ हानिएँ। काठमाडौँ आएर कमल राई, राजु शाह, पुनम राई आदिसँग नृत्य सिकेँ। प्रताब सुब्बाको डायमन्ड आर्ट सेन्टरले अभिनय पनि सिकाउँथ्यो। छ महिना अभिनय पनि सिकेँ। सिक्दासिक्दै निर्माता– निर्देशककोमा धाउने क्रम पनि जारी थियो। हिरो बन्न आजजस्तो सजिलो थिएन। त्यसैले एक सिन, दुई सिनमा पनि काम गरेँ। ‘उनको सम्झना’, ‘पाउजु’, ‘खुकरी’ जस्ता फिल्ममा म एक–दुई सिनमा छु। ‘सिलसिला’ चाहिँ मलाई हिरोका रूपमा पूर्णतः स्थापित गराउने फिल्म हो। यही फिल्मपछि हो, मलाई उद्योगले हिरोका रूपमा स्वीकार गरेको।

नेपालमा त अवस्था यस्तो छ कि यहाँ सुपरस्टार, युगनायक, महानायक धेरै हुनुहुन्छ। तर, उहाँहरूलाई आफूलाई मन परेको फिल्मको नाम लिनुस् भन्यो भने एउटा हातका औँला पनि भाँचेर सकिन्नन्। तपाईं भाँच्न सक्नुहुन्छ ? 

तपाईंको आशय मैले बुझेँ। अरूको कुरा थाहा छैन, तर म तपाईंलाई १५–२० वटा फिल्म मज्जाले टिपाइदिन सक्छु। मलाई आफूले गरेका फिल्ममा गर्व छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?