मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“सरकारले कोरोनाको निःशुल्क उपचार गर्नुपर्छ नत्र जनताले कसैलाई नि छोड्ने छैनन् “:मन्त्री आङ्वो,हेर्नुहोस।

काठमाण्डौं।प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले कोरोना संक्रमितको उपचार सरकारले निशुल्क गर्नुपर्ने बताएका छन्। नागरिक केयर सेन्टरले आइतबार विराटनगरमा बैंक तथा विमा

कम्पनीका प्रदेश प्रमुखहरूसँग आयोजना गरेको छलफलमा आङ्वोले सरकारका केहि निर्णय विरोधाभाष रहेको भन्दै कम महत्वका क्षेत्रको बजेट कटौती गरेर भए पनि सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने बताए।

महामारीको समयमा नागरिकको निःशुल्क उपचार नगरेर सरकारले पन्छिन नमिल्ने उनले बताए। ‘सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नुपर्छ’ उनले भने,‘ कुनै पनि बाहनामा पन्छिन पाउँदैन।’ आङ्वोले आफ्नो दल

र आफूले प्रतिनिधित्व गर्ने सरकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न निरन्तर पहल गरिरहने पनि बताए। उनले निजी क्षेत्रको अगुवाईमा निर्माण सुरू गरिएको कोरोना केयर सेन्टरलाई सबैको सहयोगमा चाँडै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आबश्यक रहेको बताए।

आङ्वोले नागरिक केयर सेन्टर निर्माणका लागि सघाउन प्रदेश १ का बैंक तथा विमा कम्पनीका प्रमुखहरूलाई आग्रह पनि गरे। कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १ सय वेडको केयर सेन्टर नागरिक समाजको तर्फबाट बनाउने, १ सय वेड प्रदेश सरकारले निर्माण गर्ने र केयर सेन्टरको सञ्चालन प्रदेश सरकारले गर्ने सहमतिपछि निर्माण सुरू गरिएको जानकारी दिए।

नागरिक केयर सेन्टरका संयोजक पवनकुमार सारडाले कोरोना संक्रमितको संख्या बढ्दैजाँदा विरामीको उपचारका लागि भेन्टिलेटरको अभाव भएकाले नागरिक केयर सेन्टरको अवधारणा ल्याइएको बताए। उनले निजी क्षेत्रको अग्रसरतामा विराटनगरमा निर्माण हुने नागरिक केयर

सेन्टरमा भेन्टिलेटरमा लैजानु भन्दा पहिलेको अवस्थाका विरामीलाई अक्सिजनसहितको उपचार व्यवस्था गरिने जानकारी दिए। ‘केयर सेन्टरको स्थापनाले कोरोना महामारीबाट हुने जन धनको क्षति न्यूनीकरण गर्न सकिने सम्भावना देखिएकाले केयर सेन्टर स्थापनाका लागि निजी क्षेत्र अगाडि सरेको हो’ सारडाले भने।

कार्यक्रममा सहभागी बैंक तथा विमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूले बैंक तथा विमा कम्पनीहरूले सरकारको कोरोना कोषमा गत वर्ष योगदान गरेको बताउँदै नागरिक केयर सेन्टरलाई सहयोग गर्न केन्द्रीय कार्यालयमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्। १ सय वेडको अक्सिजनसहितको नागरिक केयर सेन्टर स्थापनाका लागि डेढ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।नागरिक बाट

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?