मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

ॐ ॐ आज बुधबार कुन भगवानको पूजा–आरधाना गर्ने (पूजा विधिसहित) हेर्नुस्  सबै भगवान का दर्शन गरि सेयर गरौ चिताएको पूरा हुनेछ ।ॐ ॐ

1 min read

“काठमाडौँ– हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ।

“विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। जुन दिन जुन भगवानको विशेष दिन हो सोही भगवानको पूजा तथा आरधाना गरेमा सही फल मिल्नेछ । हिन्धुशास्त्र अनुसार हरेक हप्ता हरेक भगवानका लागि विशेष दिन भाग लगाईएको छ ।

“यसैले आज बुधबार विशेष दिन मान्ने भगवान र पूजा आरधानको कुरा गरौँ । ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पुजा गरिन्छ।

“पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। भनिन्छ नी सोम खेती बुध घर । आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।

“कृष्णलाई पुकार्ने विधि : ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ । व्यक्तिगतरूपमा अथवा सामुहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।

“सबै प्राणी भित्र परब्रम्ह परमात्मा रहेको हुन्छ, जुन कुरा स्वामी विवेकानन्दको विचारबाट पनि स्पष्ट हुन्छ। विकार रशित निर्मल र शुध्द मनले एकाग्र भै ध्यान गरेमा त्यसलाई साक्षात्कार गर्न सकिन्छ।

“हिन्दु धर्ममा प्रार्थनाको विशेष स्थान रहेको छ । यसको प्रभाव अरु धर्म र संस्कृतिमा पनि फैलिएको पाइन्छ । दुई हात जोडी प्रणाम गरी ॐ उच्चारण गर्ने हिन्दूहरुको प्रचलन आज संसारभरि चिनिन्छ । ॐ को महत्व ठूलो छ । ॐ तीन अक्षरहरु अ, उ र म को सम्मिश्रणले बन्छ ।

“ॐ को उपनिषदहरुमा विभिन्न प्रकारले महिमा गाइन्छ । माण्डुक्योपनिषदमा भनिएको छ, यो आत्मा अक्षरकोरुपमा ओंकार हो । अ, उ, म यी तीन मात्रा आत्माका तीनपाद हुन् । अकार विश्व अर्थात जागृत रुप हो, उकार तैजस अर्थात् स्वप्न रुप हो भने मकार चाहिं प्राज्ञ अर्थात् सुषुप्ति रुप हो भनी सो उपनिषदमा भनिएको छ ।

“खासगरि भजन एवं मन्त्रहरु वाचन गर्दा मिठासकोनिम्ति तोकिएका शब्द संख्यालाई छन्द तथा लय मिलाएर गाइन्छ । जस्तै गायत्री मन्त्रको आठ अक्षरका तीन चरणले बनेका चैबीस अक्षरको भजनलाई लिन सकिन्छ ।

“ॐ भूर्भुवस्वः, तत्सुवितुर्वरेन्यम् , भर्गो देवस्व धीमही, धियो यो न प्रचोदयात् ,

“त्यस्तै प्रकारले १६ अक्षरको राम कृष्ण भजन, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे,

“हरे राम हरे राम राम राम हरे हरे, को लयमा पनि मिठास पाइन्छ ।

“त्यसैगरी तीनै लोकका मालिक, संसारलाई रक्षा गर्ने, अति नै सुन्दर मनमोहक मुखारविन्दु भएका अनन्त पुरुषोत्तम वंशीधर कदम्ब वृक्षमुनि गाई, गोप, गोपिनीहरु माझ विराजमान भई मधुर ध्वनीमा वंशी बजाई सबैका मन मुग्ध गराइरहेका मनमोहन श्री कृष्णलाई “हे गोविन्द, हे दामोदर, हे माधव” भनी स्मरण गरिन्छ

“परम तत्व वा आदि पुरुषको पवित्र नामलाई निरन्तर जपिरहनाले निश्चय पनि भगवान्को आशिर्वाद प्राप्त हुन्छ । जुन नामलाई श्री व्यासजी, वशिष्ठ आदि ऋषिमुनि, वैदिक आर्यहरुले अनादिकालदेखि जप्दै आइरहेका छन् । प्रल्हादको बाधा हर्ने दयारुपी नृसिंह नारायणलाई “हे गोविन्द, हे दामोदर, हे माधव” भनी सधैँ भज्नाले पनि जीवनमृत्युको बन्धनबाट छुट्कारा पाइन्छ भनिन्छ ।

“श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव, गोविन्द, गोविन्द हरे मुरारी, गोविन्द, गोविन्द मुकुन्द कृष्ण, गोविन्द दामोदर माधव ।

“यो मन्त्र मनुष्यको जीवनको अन्तिम घडीमा दुःखबाट निवृत्त हुनकालागि जप्न योग्य छ । त्यसैले परम् पुरुष श्री मधुसुदन पुरुषोत्तम श्री कृष्णलाई “हे गाविन्द, हे दामोदर हे माधव” भनी उनको सुमधुर नामामृतलाई भज्दै जाऔं ।

“विष्णु पुराणमा पानी भित्रबाट जब गोहीले हात्तीको खुट्टा समातेर तान्न लाग्छ र उसका समस्त सखी, सम्बन्धीहरु त्रसित भई विना सहारा एक्लै छाडेर जाँदा गजराजले अधैर्य नगरी भक्ति भावले हे गोविन्द, हे दामोदर, हे माधव भनी पुकारेको कथा पढ्न पाइन्छ ।

“कौरव र पाण्डवहरुको सभामा दुःशासनले द्रौपदीको चीरहरण गर्दा उनले अरु कोही सहारा नभेटिएपछि भित्री हृदयदेखि “हे कृष्ण हे विष्णु, हे केशव मलाई रक्षा गर” भनी भगवान श्री कृष्णलाई पुकारे पछि कृष्णबाट उनको अस्मिता जोगिन्छ ।

“समस्त भक्तहरुका संकटलाई हरण गरी मनोवाञ्छित फल दिने वैद्यरुपी कस्तुरी समान नीलो वर्णवाला कल्पवृक्ष पुरुषोत्तम श्री कृष्णलाई गोविन्द, दामोदर, माधव यी मनोहर र समुधुर नामामृतलाई निरन्तर प्रेमपूर्वक पान गर्दै जाऔं ।

“गोर्वधन पर्वतलाई सजिलैसंग उचाली समस्त जनको रक्षा गर्नेे श्रीकृष्ण, संसारका समस्त दानव, असुरलाई सजिलैसित नाश गर्न सक्ने अनन्त आदि पुरुष देवकी नन्दन श्री कृष्ण कति महान् छन् तीनै लोकका मालिक समस्त प्राणीका पीडा, दुःखलाई नाश गरिदिनसक्ने श्रीकृष्ण श्री रघुनन्दन राम तिमीलाई नमस्कार गर्दछु । यी नामको स्मरण मात्र गर्नाले नै मुनष्यका सबै प्रकारका संकट नाश हुन्छन् ।

“मनुष्य शरीर त्याग गर्ने समयमा पनि यही नामको मन्त्र जप्नाले जीवन मृत्युको बन्धनबाट मुक्त भइन्छ भन्ने वेदवेत्ताहरुको भनाई छ । (श्री विल्वमङ्गलाचार्य विरचित गोविन्द दामोदर माधवेति स्तुतिमा आधारित ।)

“ईश्वरका स्तोत्र तथा मन्त्रहरु १०८ वा १००८ चोटि दोहोयाई वाचन गर्ने चलन छ । हिन्दु धर्ममा मन्त्र अथवा भजन हरेक देवी देवताका लागी छुट्टाछुट्टै व्यवस्था गरेको पाइन्छ । जस्तै शिव–स्तोत्र राम–स्तोत्र, हनुमानचालीसा आदि । यिनीहरुमा विशेषगरि भगवानको महिमा, भजन अथवा मन्त्रकोरुपमा गाइने चलन छ । यसका साथै एकै भगवान का १,००० विभिन्न नामहरु वाचन गरिनुलाई सहस्र नाम भन्ने चलन छ । विष्णुको सहस्रनामको श्लोक श्रावण महिनामा व्रत बस्दा वा सत्यनारायणको पूजा गर्दा वाचन गर्ने गरिन्छ । उदाहरणस्वरुप सहस्रनामको एउटा श्लोकमा भनिएको छ:

“ऊँ विश्वं विष्णुर्वषट्कार इत्यंगुष्ठाभ्यां नमः अमृतांशूभ्दो भानुरिति तर्जनीभ्यां नमः

“हिन्दु धर्मको अलावा अन्य धर्म तथा अन्य देशमा पनि परापूर्व कालदेखि आफ्नै पृथक प्रार्थनाका माध्यम तथा पूजा, आराधनाका विधिहरु प्रचलनमा आएको पाइन्छ । जापानमा परापूर्वकाल देखि शिन्टो धर्म मान्ने गरिएको पाइन्छ । यस धर्ममा भगवान्लाई एउटा शक्तिकोरूपमा लिइन्छ ।

“सो धर्ममा पशुपन्छी, नदी, पहाड, चट्टान आदिलाई प्राथना गरिन्छ । शिन्टो धर्मावलम्बीहरु शिन्टोहरुको मन्दिर जिन्जा मा गएर प्रार्थना गर्दछन् । सबैजसो जिन्जाको प्रबेशद्वारमा ठुलो ढोका “टोरि” राखिएको हुन्छ । जिन्जामा प्रबेस गर्नु अघि शीर झुकाएर भगवानको आदर गरिन्छ । त्यसपछी “तेमिजु”भन्ने ठाँउमा राखिएको धारामा हातमुख धोएर चोख्याउने चलन छ ।

“त्यसपछि खुला चौकको आखिरमा रहेको मुख्य भवन जहाँ भगवान्लाई बिराजमान गराइएको हुन्छ त्यस अगाडिको घन्टाको डोरी एकचोटी बजाई भवनद्वारमा राखिएको बाकसमा द्रब्य चढाइन्छ । त्यसपछि भक्तले दुईचोटी शिर झुकाई दुई चोटि हातले ताली बजाई नमस्कार गरि प्रार्थना गर्दछ ।

“लगभग १८०० सय बर्षअघि जापानमा बौद्ध धर्म फैलिएर हाल शिन्टो धर्मसँग मिश्रित भएको बताइन्छ । बुद्धको आफ्नै मन्दिर तथा मन्दिरभित्र रहेका बुद्धका मुर्तीहरुलाई दक्षिण एसियाका अरु देशहरुमा जस्तै पुज्ने चलन छ ।

“टोकियोको सुगामो भन्ने ठाँउमा रहेको तोगेनुगिजिज्यो मन्दिरमा आराईकोनान भन्ने बुद्धको प्रख्यात मुर्ती छ । सो मूर्तीलाई भक्तजनले पानीले नुहाइदिएर मुर्तीको शरीरमा रुमालले पुछिदिएर श्रद्धा अर्पण गरेमा भक्तको सोही अङ्गमा रहेको रोग नाश हुने विश्वास छ ।

“प्रत्यक्षरूपमा भगवान्को मात्र नभई शक्तिलाई लक्ष गरी गरिने प्रार्थना विभिन्न आदिबासी जनजातिहरु मा पनि पाउन सकिन्छ । परापूर्व कालदेखि हालसम्म पनि विभिन्न धर्म संस्कृतिमा भगवान् तथा शक्ति को उपासनागर्ने विधि समष्टिमा भन्ने हो भने उस्तै प्रकारको रहिआएको पाइन्छ । प्रार्थनाको माध्यमबाट ईश्वरको समीपमा पुगी ईश्वरको पुकार गर्नु ईश्वरको महिमा गाउनु तथा फल प्राप्ती को कामना गर्नु नै प्रार्थनाको मूल उद्देश्य भन्न सकिन्छ ।

“यस संसारमा मानिसहरु जन्मन्छन् र समय आएपछि देहत्याग गर्छन् । यही जन्म र मृत्युवीचको छोटो अवधिमा मानिसहरु भौतिक प्रलोभनमा अल्झेर भौतिक सम्पत्तिहरु जम्मा गर्नतिर लाग्छन् । आफूले यस भौतिक संसार छोडेर एकदिन जानुपर्छ भन्ने विर्सी अनेक पाप कर्म र स्वार्थपरक कार्यमा उनीहरु लाग्छन् ।

“तर भौतिक सम्पत्तिको संकलनले मात्र सुख मिल्दैन । मानिस आफ्नो सुखमामात्र रमाउने हैन अरुको दुःखमा सहायता गर्नु दुःखीको सहारा बन्नु पनि उसको कर्तव्य हो, जुन सच्चा धर्म पनि हो । केवल मन्दिरमा गै पूजा, आजा गर्नु मात्र धर्म हैन । मानिसले आफ्नो कलाकौशल, वुद्धि र विवेकद्वारा अर्थोपार्जन गर्दछ । तर त्यसरी भौतिकरुपमा सम्पन्न भएरमात्र उसको कल्याण हुँदैन । उसले पैसाको उपयोग आप्mनालागि मात्र गर्दैन, हमेसा अरुको सहायतामा आफूलाई समर्पित गर्दछ ।

“शास्त्रहरुमा भनिएको छ, ईश्वर प्राप्ति र भौतिक समृद्धिकालागि सँगसँगै प्रयास गर्नु पर्दछ । यसले अन्तरआत्मामा शान्ति प्रदान गर्दछ । यस जगतमा हामी खाली हात आउँछौं र खाली हातले जान्छौं। जे जति भौतिक सम्पत्ति हामी प्राप्त गर्छौं, यस जगतमा, ती सबै अन्त्यमा छाडेर जानु सिवाय अर्को विकल्प छैन।

“तिनका स्थायी मालिक हामी हैनौं। किनभने ती बस्तुहरु हिजो कसको थियो, आज कसको हो र भोलि कसको होला केही निश्चित छैन। हामी त यस संसारको अनन्त यात्रामा एक यात्रुमात्र हौं। आज संयोगले कसैसंग भेट हुनसक्छ, वा भोली फेरि बिछोड हुनसक्छ, त्यो सम्बन्धी साथी, संगी केही पनि चिरस्थायी छैन।

“ऊँ ईशावस्यमिदँसर्वं यत्किंच जगत्यां जगत, तेन त्यक्तेन भुन्जीथा मा गृधः कस्यस्विध्दनम्

“अर्थात्, ईश्वरलाई आफ्नो साथमा राखेर त्यागपूर्वक यस संसारलाई भोग्दै जाऊ, यसमा आशक्त नहोऊ, किनकि यो धन, भोग्य पदार्थ कसको हो? कसैको पनि होइन ।

“ईश्वरलाई सधैँ आफूसँग राख्न सकेमा मानिस सबभन्दा सुखी बन्न सक्दछ । ईश्वरसँग नजिक हुने माध्यम ज्ञान, ध्यान र भजन हो । ईश्वरको भक्ति जसरी जुन माध्यमबाट पनि गर्न सकिन्छ, केवल प्रगाढ श्रध्दा र भक्ति चाहिन्छ । त्यसो भएमा ईश्वरको नजीक सजिलै पुग्न सकिन्छ र जीवन, मरणको बन्धनबाट मुक्ति पाइन्छ भन्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

“ईश्वरको प्रार्थना, भजन वा ध्यानव्दारा मानिसको मनमा शान्ति ल्याउन सकिन्छ । त्यसैले होला परापूर्वकालदेखि हालसम्म पनि विभिन्न ईश्वरको भजन, स्तुती गाउने र नाम जप्ने प्रचलन अटूट रुपमा चलिआएको पाइन्छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?