मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“दाहाल-नेपाल,को नजर गण्डकीमा”

“काठमाडौँ, २९ पुष । प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाका दुवै समूह मुलुकभर आन्दोलन, सभा र प्रशिक्षण गर्दै हिँडिरहेका छन् । यसका लागि दुवै समूहले प्रदेश इन्चार्जहरू तोकेका छन् । जुन ठाउँमा आफ्नो पक्ष अलिक कमजोर छ, त्यहाँ पार्टी अध्यक्षहरू पुग्ने भित्री रणनीति दुवै पक्षको छ ।

“त्यही रणनीतिअन्तर्गत मंगलबार दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधव नेपाल गण्डकी प्रदेशको भेलामा सहभागी हुन पोखरा पुगे । पार्टी विभाजनपछि दाहाल र नेपाल सँगै राजधानी बाहिर गएर संयुक्त सम्बोधन गरेको यो पहिलो पटक हो । गत साता ओली समूहको प्रदेशस्तरीय आमसभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका थिए । बालुवाटारबाट सिंहदरबारस्थित कार्यालयसमेत नजाने प्रधानमन्त्री ओली सम्बोधनका लागि सुदूरपश्चिम पुग्नुको कारण पनि त्यहाँको पार्टीगत गणितमा आफ्नो पक्ष केही कमजोर देखिनु हो ।

“सुदूरपश्चिममा जसरी दाहाल–नेपाल समूह अत्यधिक बलियो छ, त्यसको ठीक उल्टो अवस्था गण्डकी प्रदेशमा छ । त्यसैले दाहाल–नेपालको काठमाडौं बाहिरको प्रशिक्षणको पहिलो नजर गण्डकी प्रदेश परेको हो । गण्डकीमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका नेकपा सांसद ३० जना रहेकामा १८ जना ओली समूहमा छन् । नेकपाका ४० प्रदेश सांसदमध्ये मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसहित २७ जना ओलीतिर छन् । १२ सांसद दाहाल–नेपाल समूहका छन् । सभामुख भएकाले कतै खुल्न नमिलेका नेत्रनाथ अधिकारी पूर्वमाओवादी हुन् ।

“तत्कालीन एमालेबाट गण्डकीमा २८ प्रदेश सांसद थिए । तीमध्ये २७ जना ओली पक्षमा छन् । बागलुङका इन्द्रलाल सापकोटा मात्र दाहाल–नेपाल पक्षमा उभिएका हुन् । उनी पार्टीको जिल्ला अध्यक्ष पनि हुन् । सभामुखबाहेक पूर्वमाओवादीका ११ जना दाहाल–नेपाल समूहमै छन् ।

” ६० सदस्यीय प्रदेशसभामा २७ जना ओली पक्षकै छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री गुरुङ उनीहरूलाई मिलाउने दौडधुपमा छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?