मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भ्रमण वर्ष २०२० : आज यी रुट प्रयोग नगर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं : आजबाट भ्रमण वर्ष २०२० को सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार दशरथ रंगशालामा हुने विशेष कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन्। उद्घाटन कार्यक्रममा सहभागी हुन विश्वका विभिन्न देशबाट पर्यटनमन्त्री

नेपाल आइसकेका छन्। कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले स्वागत गर्ने बताइएको छ। उद्घाटन अघि विभिन्न स्थानबाट र्‍याली निकालेर उद्घाटनस्थल रंगशालासम्म जाने पर्यटन मन्त्रालयले जानकारी दिएको छ। उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण बुधबार काठमाडौं उपत्यकाको आवागमन प्रभावित हुने भएको छ। दिउँसोको समयमा ठमेलबाट र्‍यालि निस्केर रंगशालासम्म जाने भएकाले वैकल्पिक रुट प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले अनुरोध गरेको छ। ट्राफिक प्रहरी महाशाखाका अनुसार थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित हुनेछ। महाशाखाले अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ। कार्यक्रममा सहभागी हुन आउने सर्वसाधारणको लागि काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थलको व्यवस्था गरिएको छ।

नयाँ वर्षमा पोखराका ८० प्रतिशत होटल बुकिङ

पोखरा : फेवाताल किनारमा अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई स्वागत गर्न स्वदेशी तथा विदेशीको बाक्लो उपस्थिति छ। सन् २०१९ लाई विदाई र २०२० लाई स्वागत गर्न फेवाताल किनारको तीन किलोमिटर सडक बेहुली झै सिंगारिएको छ। ब्यानर, ध्वजापताका र झिलिमिली बत्तीले सडक र महोत्सवस्थल कोमागाने पार्क सजाइएको छ।

महोत्सवको प्रमुख आकर्षण सडकमै बसेर सातै प्रदेशका साँस्कृतिक झाँकी र नृत्यको साथै गण्डकी प्रदेशका ११ जिल्लाका संस्कृति प्रस्तुत गरिएको छ। पर्यटकले सडक किनारमा विभिन्न खानाका परिकारको स्वादमा नेपाली प्राचिन संस्कृति अवलोकन गर्न पाएको रेबान पोखराका अध्यक्ष वुधराज भुजेलले बताए।सडकमै बसेर नेपालका विभिन्न साँस्कृतिक प्रस्तुति हेर्न पाउँदा निकै रमाइलो लागेको बेलायतबाट नेपाल घुम्न आएका माइक बेलले सुनाए।सडक महोत्सवको एक दिन मंगलबार ८० प्रतिशत होटल भरिभराउ भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।

पदयात्रा पर्यटनको भरमा त्यती बेला चलेको पोखराको पर्यटनलाई जीवन्त दिन र नयाँ वर्ष मनाउने गन्तव्यको रूपमा पोखरालाई विकास गर्न सडक महोत्सव सुरु भएको रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए। नयाँ वर्ष मनाउन यति बेला पोखरामा ३० प्रतिशत भारतीय, १० प्रतिशत तेस्रो मुलुकका पर्यटक र ४० प्रतिशतभन्दा बढी नेपाली पर्यटक रहेको उनले सुनाए। सडक महोत्सवअन्तर्गत पोखराको कोमागाने पार्कमा नयाँ वर्षलाई स्वागत गर्न भव्य कार्यक्रम गरिएको छ। नयाँ वर्षलाई गायक राजु लामा, कर्मा ब्यान्ड र लाहुरे ब्यान्डले गित संगीतबाट भव्य स्वागत गरिरहेका छन्।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?