मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

सुरक्षाको रुवाबासी, राजेश हमाल खोई ?

सुरक्षा पन्त नेपालका सीमित सम्भावना भएका अभिनेत्रीमध्येमा पर्छिन्। तर यस्ता सम्भावनाको हत्या फिल्ममा तिनले गर्ने अभिनयले भन्दा फिल्मको ओभरअल मेकिङले गरिदिन्छ। अब भर्खरै निर्माणसम्पन्न भएको ‘आमा’ फिल्मकै कुरा लिऊँ न ! दीपेन्द्र के. खनालले ‘पशुपतिप्रसाद’

एउटा गम्भीर फिल्म बनाएका थिए। सानो र झिना मसिना समस्या एउटा व्यक्तिको लागि कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिने सो फिल्ममा सबैभन्दा संवेदनशील कथा वृद्धाश्रममा बस्ने बूढी आमा र पशुपतिप्रसादको नजिकको सम्बन्धलाई दर्शकले निकै रुचाएका थिए।अब यही संवेदनशीलता भुट्न दीपेन्द्रले ‘आमा’ नाममा फिल्म बनाएका छन्। यसको प्रोमो धमाधम टेलिभिजन र युट्युबमा चलिरहेका छन् तर त्यो प्रोमोले दर्शकलाई हलसम्म तान्ला भन्नेमा शंका नै छ। त्यही ‘आमा’की छोरी बनेकी सुरक्षा ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दा बोल्दाबोल्दै भक्कानो फुटाइन्। यही फिल्मका लागि उनले आफ्नो रहरलाग्दो कपाल मुण्डन गरेकी थिइन्। आमा सम्झेर कयौँ पटक घुँक्क भएकी थिइन्। पर्दामा आँशु बिक्री हुन्छ भन्ने थाहा पाएका दीपेन्द्रले पर्दामा ‘आमा’को आँशु बेच्ने प्रयासमा छन्, पर्दाबाहिर यिनै सुरक्षाले आँशु बेच्ने प्रयास गरेकी छन्। हेरौँ, बाहिरको र भित्रको आँशु कत्तिको बिक्री हुन्छ।

राजेश हमाल खोई ?
फिल्मबाट छुट्टि मनाउन यदि कसैलाई आउँछ भने त्यो हाम्रा राजेश हमाललाई आउँछ। फिल्मको सुटिङबाहेक कतै घुमघाममा नबिताएका र विदेशबाहेक डुल्ने ठाउँ कहिल्यै नदेखेको हाम्रा हमालले फिल्मको अफर कम हुनेबित्तिकै डुलाईमा कमाल गरिरहेका छन्।स–साना कार्यक्रममा उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दौडिरहेका हुन्छन्। दुःखको कुरा यही दौडधुपका बेला देशका होनहार कलाकार र फिल्म निर्माताको दुःखद् अवशान भयो। तापनि उनले फेसबुकबाट ट्यास्स श्रद्धाञ्जली र समवेदनाका शब्द मात्र टाँसे।

हुन त हिरो भन्नेबित्तिकै यस्ता मरीमराउ–परीपराउमा जानै हुँदैन जस्तो गर्ने उनी मात्र एक्ला व्यक्ति त होइनन्। भुवन केसी, निखिल उप्रेती, विराट भट्टजस्ता पुराना कलाकार मात्र होइन, अनमोल केसी र उनको पुस्ता पनि मरीमराउमा देखिँदैनन्।

जसरी कुनै बेलाका स्टार समय बितेपछि स्टार रहँदैनन्, त्यसैगरी कुनै बेलाका ज्यूँदाजाग्दा मान्छे लाशमा परिणत हुन्छन्। यत्ति ज्ञान त यिनलाई नि हुनुपर्ने हो, हो कि नाइँ ?

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?