मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

“महँगोमा किनेर, भारतलाई सस्तोमा, विद्युत् बेच्दै” प्राधिकरण”

“काठमाडौँ — नेपालले पहिलो पटक बुधबारबाट भारतलाई विद्युत् बेच्न सुरु गरेको छ । यो नेपालको ऊर्जा व्यापारको एउटा कोशेढुंगा हो । यसको दीर्घकालीन महत्त्व रहन्छ । भारतसँग मात्र नभई क्षेत्रीय बजारमा नै ऊर्जा व्यापारको सम्भावना खोजिरहेको नेपालका लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि हो ।”

“तर, नेपालले भारतलाई बेचेको विद्युत्को मूल्य भने निकै सस्तो देखिएको छ । प्राधिकरणका अनुसार बुधबारका लागि नेपालले औसत प्रतियुनिट ४ रुपैयाँ ३३ पैसामा भारतलाई विद्युत् बेचेको छ । जबकि अहिले प्राधिकरणले आफै भने महँगो दरमा विद्युत् किनिरहेको छ ।

प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ । अहिले प्राधिकरणले निजी क्षेत्रसँग वर्षायामको दर अर्थात् ४ रुपैयाँ ८० पैसामा विद्युत् किनिरहेको छ । केहि आयोजनामा भने विदेशी मुद्रा अर्थात् डलरमा समेत पीपीए भएकाले ती आयोजनाबाट उत्पादित विद्युत् अझ योभन्दा महँगो पर्न जान्छ । प्राधिकरणले अहिले किनिरहेको विद्युत्को मूल्य र बेचिरहेको मूल्यको अन्तर मात्रै प्रतियुनिट ४७ पैसा बराबर देखिन्छ ।”

“नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई प्रतिस्पर्धी बजारमा विद्युत्को मूल्य कहिले कम र कहिले बढी हुने बताउँछन् । ‘इन्डियन एक्सचेन्ज मार्केटमा गइसकेपछि बजारले मूल्य निर्धारण गर्छ । हामीले कुनै दिन कम र कुनै दिन बढी मूल्यमा बेच्न सक्छौं,’ उनले भने । विद्युत्को मूल्य निर्धारणमा अब माग र आपूर्तिको व्यवस्थापन सँगसँगै प्रतिस्पर्धी बजारले समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

“इन्डियन एक्सचेन्ज मार्केटमा विद्युत् बेच्नका लागि हरेक १५ मिनेटमा मूल्य तलमाथि हुन्छ । एकैदिनमा पनि हरेक १५ मिनेटको ९६ वटा ब्लकमा फरक–फरक मूल्य तोकिने हुँदा कुनै ब्लकमा सस्तो र कुनैमा महँगो पर्न जाने प्रवक्ता भट्टराईले बताए । बोलकबोल प्रक्रिया र न्यून मूल्य बोली लगाउने प्रस्तावकले विद्युत् बेच्न पाउने हुँदा सस्तो दरमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो । एक्सचेन्ज बजारमा महँगोमा विद्युत् बेच्न राख्दा बिक्री नै नहुने अवस्थासमेत देखिन सक्छ ।”

“अर्को महत्वपूर्ण तथ्य भनेको अहिले नेपालमा दिउँसोको समयमा २ सय र रातिको समयमा ४ सय मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । यसरी विद्युत् खेर जानुभन्दा सस्तोमा भए पनि प्राधिकरणले भारतलाई विद्युत् बेच्न सक्छ । उत्पादित विद्युत् खेर जानुभन्दा सस्तोमा भए पनि त्यसलाई बेच्दा आर्थिक दायित्व घट्न जान्छ । नेपालले भारतलाई बेचेको विद्युत् मूल्य आन्तरिक बजारमा बेचेको भन्दा निकै सस्तो हो । अहिले औद्योगिक ग्राहकहरुले अधिकतम प्रतियुनिट ११ रुपैयाँसम्म महसुल तिरिरहेका छन् “

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?