मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

वीर्यदाताको कथा : बिहे नगरी बाउ तर सन्तान चिन्दैनन्

1 min read

विवाहित मिलनलाई उनको बहिनीको फोन आयो। ‘दादा, स्पर्म (वीर्य) डोनेट गर्नुपर्ने भयो !’ उनी अन्कनाउँछन्। ‘म पछि कल गर्छु,’ भन्दै उनले फोनको लाइन काटिदिए। केही दिनअघि मात्र उनकी बहिनीले आफू काम गर्ने क्लिनिकबारे बताएकी थिइन् उनलाई। उनले भनेकी थिइन्, ‘म काम गर्ने क्लिनिकमा त स्पर्म डोनेट हुन्छ नि !’

बहिनीको कुरा सुनेर उनी चकित भए एकैछिन्। स्मर्प डोनेसनबारे उनले हिन्दी फिल्म ‘विक्की डोनर’ हेरेर थाहा पाएका थिए। अनि विकसित देशमा स्मर्प डोनेट शुरु भइसकेको समाचार पनि पढेका थिए कतै तर नेपालमै यस्तो काम शुरु भएको उनलाई थाहा थिएन।
‘यस्तो नि हुन्छ र नेपालमा ? ढाँटेकी हौला,’ उनले आश्चर्य व्यक्त गरे।
‘हैन नि दा’, डोनेट गर्ने कुरा नेपालमा पनि भइरहेको छ, सत्य हो भन्या,’ भन्दै बहिनीले सबै बेलिबिस्तार लगाएकी थिइन् र अन्त्यमा सोधिन् पनि, ‘तपाईं नि गर्ने हो ?’

उनी त्यो दिन मुसुक्क हाँसे मात्र। उनलाई लाग्यो– बहिनी जिस्कदैछे।
तर आज त फोनै आयो। उनले फोन त काटे तर के गरौं, कसो गरौं भयो।
एकछिन सोचमग्न भए, अन्त्यमा आफ्नो कौतुहल मेट्न भए पनि स्पर्म डोनेट गर्ने निर्णयमा पुगे।
‘आखिर खेरै जाने त हो !’ शुक्रवारसँग उनले भने, ‘मैले स्पर्म डोनेट गर्दा कुनै निःसन्तान परिवारले सन्तान पाउन सक्छन् भने किन नगर्ने भन्ने लाग्यो। मैले बहिनीलाई हुन्छ भनिदिएँ। उनी खुसी नै भइन्।’

बहिनीले उनलाई काठमाडौंमा रहेको आफ्नो क्लिनकमा लगिन् र उनले आफ्नो स्पर्म दिएर आए। मिलनलाई थाह छैन, उनले दिएको स्पर्मले कस्तो आकृति लियो, कसको पेटमा हुर्कंदै छ। उनी अविवाहितै छन् तर उनी बाबु बन्दैछन्। मनमा खुल्दुली त हुने नै भयो।

वीर्य दान गरेपछि त्यो कसले लियो गोप्य नै रहने भएकाले उनको खुल्दुली मेटिने सम्भावना भने छैन।
‘खुल्दुली त हुनेरहेछ,’ उनले भने, ‘स्पर्म दिएर कसैलाई सहयोग गर्न पाएकोमा भने म खुसी छु। यसैमा सन्तोष लागेको छ।’
०००
बिहे भएको पाँच वर्ष भइसक्दा पनि सुनिता र प्रमोद निःसन्तान थिए। उमेरले २६ कटेकी सुनिता र २९ का प्रमोदलाई सन्तान जन्माउन घरबाट निक्कै दबाब थियो। तर, जति कोसिस गर्दा पनि सुनिताको कोख भरिएन। अस्पतालमा जँचाएपछि पत्ता लाग्यो समस्या, अजस्फर्मिया अर्थात् विशालकै तर्फबाट बच्चा नहुने समस्या !

त्यसपछि सुनीता/प्रमोदले ‘टेस्टट्युब बेबी’को माध्यम रोजे। एकदिन घरपरिवारलाई काम परेको बहाना बनाएर उनीहरु झापादेखि काठमाडौं आएर क्लिनिकका डाक्टरबाट आइभिएफ (इन्भिट्रोफर्टिलाइजेसन)बारे जानकारी लिए।

‘टेस्टट्युब बेबी’का लागि यी दुईलाई डोनर आवश्यक भयो अर्थात् वीर्यदाता। काठमाडौंमा उनीहरुका आफन्त कोही थिएनन्। अब वीर्य माग्दै कहाँ जानु ? चिकित्सकले नै उनीहरुले खोजेको जस्तै (जात, रङ अनि कद) वीर्यदाताको खोजिदिए र सुनिताको कोखमा राखिदिए। सुनिताको गर्भमा भ्रूण विकसित भयो। अहिले उनीहरुको छोरो सलोन तीन वर्षको भइसक्यो।
मिलनजस्तै वीर्यदाताको सहयोगले यी दुवै जोडीको अभिभावक बन्ने सपना पूरा भयो।
०००
शुक्रवारको खोजमा अर्का वीर्यदाता पनि फेला परे, २८ वर्षका साहिल। उनी काठमाडौंका हुन्। उनी यतै हुर्किए। उनको परिचितको क्लिनिक रहेछ काठमाडौंमा। त्यहाँ वीर्यदान हुने गरेको उनलाई पहिल्यै जानकारी रहेछ तर दान गरेका रहेनछन्। उनको परिवारलाई पनि थाहा रहेछ यसबारे।

एकदिन उनका दाइले फोन गरेर उनलाई वीर्य दान गर्न क्लिनिकमा आउन भने। दाइको क्लिनिकमा आएका एक दम्पतिलाई वीर्य चाहिएको रहेछ। उनीहरुले जस्तो व्यक्तिको वीर्य खोजेका थिए, त्यो साहिलसँग मिल्न पुग्यो। त्यसैले उनका दाइले उनलाई आग्रह गरेका रहेछन्।
दाइले ‘तिमी मेरो क्लिनिकमा आएर स्पर्म डोनेट गर’ भनेपछि उनी गए।
‘कहिलेकाहीँ दादा साथीहरुसँगको भेटघाटमा क्लिनिकमा स्पर्म आवश्यक परे तिमीलाई फोन घुमाउन सक्छु भन्नु हुन्थ्यो। हामी हाँसोमै उडाउँथ्यौं,’ उनले भने, ‘जिस्केर भइहाल्छ नि बोलाउनु न भन्थ्यौं तर वास्तवमै बोलाउनुभयो। जानैप-यो !’ उनलाई दाइले दुई बजेतिर क्लिनिकमा बोलाएका थिए। जानुभन्दा अगाडि उनले मिल्ने साथीलाई चैँ भने। उनले जाऊँ भनेपछि उनी क्लिनिकमा पुगे।

क्लिनिक पुगेर सबै टेस्ट भयो। अनि एउटा कोठामा लगेर उनले सहज रुपमा आफ्नो वीर्य दान गरे।
‘स्पर्म डोनेट गरेर आएपछि केही ठूलै काम गरेजस्तो अनुभव त भएन तर भित्रभित्रै लाज लागिरहेको थियो,’ उनले भने, ‘त्यो क्लिनिकमा मलाई कति स्टाफले चिन्नु हुन्थ्यो। स्पर्म डोनेट गरेर त्यो कोठाबाट बाहिर आउँदा उहाँहरुलाई देखेर लाज चाहिँ लाग्यो।’

०००
नेपालमा बाँझोपनको समस्या कत्ति छ ? यकिन तथ्यांक फेला पर्दैन। थापाथलीस्थित प्रसूति गृहको आँकडा हेर्ने हो भने दैनिक जँचाउन आउनेको संख्या ३ सयमा १० जना हुने गरेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बराल बताउँछन्। त्यसमा धेरैजसो पुरुषभन्दा महिलाकै स्वास्थ्यका कारण गर्भ नबसेको देखिने उनले जानकारी दिए।

‘स्वास्थ्य परिक्षण गर्न आउनेमध्ये अधिकांशको हार्मोन गडबडीका कारण बाँझोपनको समस्या देखिन्छ। हार्मोन लगायतका औषधी उपचारबाट पनि समस्या समाधान नहुँदा अधिकांश परिवारले आइयुआई (इन्ट्रा युट्राइन इन्समेनेसन) कि त आइभिएफ (इन्भिट्रो फर्टिलाइजेसन) माध्यम अपनाउँछन्,’ उनले भने।

करिब १० वर्ष भयो यो प्रविधि नेपाल भित्रिएको। आइभिएफ प्रविधिबाट बाँझोपनको समस्या समाधान गर्नेहरुको संख्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्।

यस प्रविधिमा दम्पतिले जसमा समस्या हुन्छ उस्तै दाताको सहयोग लिने गरेका छन्। कतिले आफन्तबाटै स्पर्म लिन्छन् त कोही व्यावसायिक दाताको भर पर्छन्।

वीर्य र डिम्ब दानसम्बन्धी नेपालमा प्रस्ट कानुन आइसकेको छैन तर अर्काको वीर्य र डिम्ब लिएर गर्भाधान गर्न चाहनेहरुको रोजाईअनुसार आफूले चाहे अनुसारको कद, रङ अनि जातको डोनर उपलब्ध गराउने क्लिनिकको संख्या आधा दर्जन हाराहारी पुगिसक्यो नेपालमा।

जसरी क्लिनिकको संख्या बढिरहेको छ, वीर्य र डिम्ब दान गर्नेहरुको संख्या पनि बढ्दैछ। वीर्य र डिम्ब दानबारे जानकार स्रोतका अनुसार कसैले निःशुल्क दान गरिरहेका छन् भने कतिले शुल्क पनि पाउँछन्। एक पटक दान गरेको पाँच हजारसम्म शुल्क दिइने गरेको केहीको भनाइ छ।
०००
वीर्य दान गरेपछि कस्तो अनुभव हुने रहेछ ?
साहिलका अनुसार वीर्य दान गर्दा र फर्कदा त उनलाई त्यस्तो केही अनुभव भएको थिएन तर मैले वीर्य दान गरेँ। अब त्यो कसैको पेटमा बसेर बच्चा हुन्छ भन्ने सोचले भने छाडेन। ह्या भनेर उनले बिर्सन नखोजेको कहाँ हो र ! तर सकेनन्। कसको पेटमा होला मेरो वीर्य, कस्तो बच्चा जन्मिएला भन्ने सोचाई आइरह्यो उनलाई।

‘तीन दिनसम्म त दिमागमै त्यही कुरा चलिरह्यो र डर पनि लाग्यो,’ साहिलले भने, ‘अन्य समयमा पनि स्पर्म खेर गइरहेको हुन्छ नै तर आफ्नो स्मर्पबाट बच्चा बन्दैछ भन्ने सोच्दा भने एक किसिमको लगाव हुँदोरहेछ !’

‘अब मेरो वीर्यबाट बच्चा जन्मदैछ भन्ने सोच्दा अर्कै अनुभव हुनेरहेछ !’ उनले केहीबेर सोचिसकेपछि भने, ‘तिमी त बायोलजिकली त्यो बच्चाको बुबा हो भन्ने कुराले तानिरहँदोरहेछ !’
उनले अगाडि भने, ‘म बिहेअगाडि नै बुवा भएँ तर बच्चा चैँ कता छ थाहा छैन।’
(वीर्यदाता र वीर्य लिने व्यक्तिको पहिचान गोप्य राख्नुपर्ने शर्तका आधारमा यहाँ प्रयोग गरिएको वीर्यदाता र वीर्य लिने दुवैको नाम परिर्वतन गरिएको छ।)

छैन नीति, गुपचुप सेवा
विकसित देशहरुमा कानुनै बनाएर यसलाई व्यवस्थित गर्दै वीर्य र डिम्ब बैंक नै खोलिएका छन्। दाताले पालना गर्नुपर्ने नियम अनि लिने व्यक्तिको कानुनी अधिकार, सेवा शुल्क लगायतका पाटो राज्यले नै प्रस्ट बनाउने गरेको छ।

जानकारका अनुसार नेपालमा आफन्तबाट वीर्य या डिम्ब दान लिन रोकतोक छैन तर व्यावसायिक रुपमा खरिद बिक्रीसम्बन्धी कानुनी नीति छैन।

तर अर्काको वीर्य र डिम्ब लिएर गर्भाधान गर्न चाहनेहरुको रोजाईअनुसार आफूले चाहे अनुसारको कद, रङ अनि जातको डोनर उपलब्ध गराउने क्लिनिकको संख्या आधा दर्जन हाराहारी पुगिसक्यो नेपालमा पनि।

जसरी क्लिनिकको संख्या बढिरहेको छ, वीर्य र डिम्ब दान गर्नेहरुको संख्या पनि बढ्दैछ। वीर्य र डिम्ब दानबारे जानकार स्रोतका अनुसार कसैले निःशुल्क दान पनि गरिरहेका छन्, कतिले शुल्क पनि पाउँछन् एक पटक दान गरेको पाँच हजारसम्म।

बाँझोपनको समस्या समाधानका लागि टेस्ट ट्युबबेबी लगायतका चिकित्सकीय सेवाले वैधता पाए पनि वीर्य या डिम्ब संकलन गर्ने कानुनी प्रस्टताको अभावमा यस्तो सेवा सञ्चालन गरिरहेकाहरु औपचारिक रुपमा खुल्न समेत चाहँदैनन्। शुक्रवारले भेटेका यस्तो सेवा दिने केहीले क्लिनिकको नाम, ठेगाना र व्यक्तिको नाम नखुलाउन आग्रह गरेका थिए।

तर फेसबुक लगायतका फोरममा नेपालमा वीर्य दान गर्ने र लिने केही समूह सक्रिय देखिए। फेसबुकमा फेला परेको नेपाली स्पर्म डोनर समूहले कसैलाई स्पर्म चाहिए सम्पर्क राख्न आग्रह गर्दै विवरण गोप्य रहने उल्लेख थियो।

यस्तै सेवा दिने उल्लेख गरिएको फर्टिलिटीसेन्टरनेपालडटकम वेबसाइट फेला प-यो। सो साइटमा उल्लेख भएअनुसार उसले बाँझोपन भएकाहरुलाई सबै प्रकारको सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ, जसमा नेपालमा गैरकानुनी भइसकेको सरोगेसी (भाडाको कोख)को सेवा समेत उल्लेख छ।

साइटमा उल्लेख भएअनुसार सो सेन्टरले काठमाडौं, नेपालगञ्ज, बिराटनगर र पोखरामा यस्तो सेवा दिने गरेको छ। सेन्टरको विवरणअनुसार वीर्यबाट शुक्रकीट र डिम्ब लिएबापत प्रति अण्डा ४५ हजार अमेरिकी डलर सेवा शुल्क तोकिएको छ। यो भनेको ५० लाख हाराहारीको शुल्क हो।

उसले डिम्ब र शुक्रकीट दुवैको दान लिने उल्लेख गर्दै डिम्बको हकमा महिलाको उमेर ३५ र शुक्रकीट दानका लागि दाताको उमेर ४५ तोकेको छ।

नेपाल इन्टरनेसनल फर्टिलिटी सेन्टरका अनुसार काठमाडौं, नेपालगञ्ज, बिराटनगर र बुटवलमा यस्तो सुविधा छ। सम्पर्क व्यक्तिको रुपमा भारतीय चिकित्सक डा. रीता बक्सीको नाम उल्लेख छ। साइटमा डोनरको डाटाबेस नै राखिएको छ तर सार्वजनिक रुपमा उपलब्ध छैन।

सरोगेटमदरनेपालडटकममा स्पर्म र डिम्ब दान गर्नेहरुको सूची नै राखिएको छ। कोप्यारेन्टम्याचडटकममा पनि केही नेपाली स्पर्म र ओभरी दाताको विवरण फेला प-यो। जानकारका अनुसार प्रसूतिसम्बन्धी सेवा दिने अधिकांश निजी तथा सरकारी अस्पतालले समेत दान लिने गरेको छ।

विवाद भए छैन समाधान
शुक्रकीट या ओभरी दान रक्तदान जत्तिकै सामान्य प्रक्रिया नै हो तर रक्तदान र शुक्रकीट या ओभरी दानले ल्याउन सक्ने कानुनी जटिलता भने उस्तै हैन। त्यसैले यस्ता दानबाट आउनसक्ने जटिलता हटाउन कानुनी व्यवस्था गरिएको हुन्छ।

वीर्य या ओभरी दातालाई उसको शुक्रकीट र ओभरी कसले लिएको हो र सन्तान कस्तो छ भन्ने जानकारी गराइन्न। यस्तो विवरणलाई गोप्य राख्न कानुनी व्यवस्था नै गरिएको हुन्छ तर नेपालमा यसबारे प्रस्ट कानुनी व्यवस्था नभए पनि दान गर्ने र लिने क्रम जारी छ। दाता र लिनेबीच कानुनी विवाद भए के गर्ने ? प्रस्ट नीति भने छैन। दाताले आफ्नो शुक्रकीट र भ्रूणबाट जन्मिएको सन्तानको खोजी गरे कानुनी रुपमा समस्या निराकरण गर्न कठिन छ नेपालमा।

‘त्यो बच्चा कस्तो होला है !’
–साहिल
मैले अहिलेसम्म ५ पटक जति रक्तदान गरिसकें। मेरा लागि वीर्यदान रक्तदान जस्तै भयो। ६ महिना भयो डोनेट गरेको। मैले डोनेट गरेर राम्रो गरेँ।

मैले जुन परिवारको लागि स्पर्म डोनेट गरेँ, उहाँहरुको खास समस्या थाहा छैन। सायद श्रीमानबाटै बच्चा नभएको हो। मैले त दाइलाई उनीहरुको बच्चा भएपछि मलाई पनि जानकारी गराउनु भनेको छु। भन्नुहुन्छ, हुन्न थाहा छैन।

म जस्तै अन्य पनि स्पर्म डोनेट गर्नेहरु छन्। अरुको हकमा के हुन्छ थाहा भएन तर मलाई त्यो बच्चा कस्तो देखिन्छ होला भन्ने भइरहेको छ। आमाको गर्भमा बच्चा बसेपछि जुन किसिमको लगाव हुन्छ नि, त्यस्तै किसिमको लगाव छ मेरो त्यो बच्चासँग। अँ, मेरै बच्चा त हो नि ! कस्तो भएछ भनेर हेर्न मन लाग्दोरहेछ क्या ! तर खोई त्यो बच्चाको अनुहार हेर्न पाइएला कि नपाइएला थाहा छैन। उसले यो धर्तीमा सास लिनु नै मेरो लागि आनन्द हो। मैले विवाह नगरे ’नि मेरो बच्चा छ नि भन्ने सोच्दा नै आनन्द आउने रहेछ।

कसैलाई समस्या परेर बोलाए फेरि पनि म वीर्य दान गर्न राजी छु। केही कुरा राम्रोको लागि हुन्छ भने कि नगर्ने ? हाम्रो लागि क्षणिक हो तर समस्यामा परेका दम्पतिका लागि यो ठूलो उपहार हो। भोलि मेरो बिहे भएर बच्चा भएन, कसैले वीर्यदान ग-यो भने त्यो मेरो लागि भगवान् बराबरै हुन्छ। हुँदैन र ?
(वीर्यदाता र वीर्य लिने व्यक्तिको पहिचान गोप्य राख्नुपर्ने सर्तका आधारमा यहाँ प्रयोग गरिएको वीर्यदाता र वीर्य लिने सबैको नाम परिर्वतन गरिएको छ।)

वीर्य दानबारे नीति नै छैन : प्रा.डा.गेहनाथ बराल
प्रमुख कल्सल्टेन्ट, प्रसूति तथा स्त्री रोग विशेषज्ञ
वीर्य र ओभरी लिन चाहने महिलालाई कोबाट लिएको हो भन्ने गोप्य रहन्छ। अस्पतालको बाँझोपनसम्बन्धी समस्या हेर्ने शाखाले यो व्यवस्था मिलाएको हुन्छ। अस्पतालको यो शाखाको समन्वयमा डोनरले दान गरेको हुन्छ। तर दान गर्ने व्यक्तिलाई पनि को व्यक्तिलाई दान गरेको भन्ने पनि थाहा हुन्न। यो अभ्यास विश्वभर चलिरहेकै अभ्यास हो।

पतिबाट गर्भ नरहेको अवस्थामा विकल्पको रुपमा महिलाले अन्य व्यक्तिको वीर्य लिन सक्छिन्। तर महिलाले लिने इच्छा व्यक्त गरेको अवस्थामा महिलाको मञ्जुरीमा सम्बन्धित चिकित्सकको समन्वयमा अन्य पुरुषको वीर्यबाट गर्भाधान गर्न सकिन्छ।

महिलाको हकमा रजश्वला रोकिएपछि भने डिम्बको निष्काशन हुँदैन। महिलाको डिम्ब ननिस्किएको अवस्थामा अरु महिलाको डिम्ब ल्याएर शुक्रकीटसँग प्रजनन गराएर पाठेघरमा राखिन्छ। तर महिलामा भने यस्तो अन्य महिलाको डिम्ब ल्याएर प्रजनन गराएको अत्यन्तै कमै देखिन्छ।

वीर्य दान गर्नु भाडामा कोख लिनु हैन। त्यसैले यो सरोगेसी पनि हैन। यो बाँझोपनको उपचार हो। तर यसबारे पनि प्रस्ट नीति हुन भने आवश्यक छ। नेपालको हकमा यसबारे कुनै नीति नै छैन। डोनरले रक्तदान गरेझैं वीर्य दान गरिरहेका छन् यहाँ। दान गर्न हुने वा नहुने, दान गर्दा के विधि अपनाउने, दातालाई शुल्क दिने हो भने कति दिने समस्या छ। त्यसैले यसलाई जति सक्दो चाँडो यसबारे नीति बनाउन आवश्यक छ।
(उपेन्द्र खड्कासँग गरेको कुराकानी )

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?