मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

चन्दननाथ गुठीको १०८ रोपनी जग्गा अतिक्रमण

जुम्ला : जुम्लास्थित चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्तिविशेषले अतिक्रमण गरिसकेका छन्। चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन्। चन्दननाथ राजगुठीको १ लाख ४ हजार वर्गमिटर (करिब २ सय

५ रोपनी) जग्गामध्ये हाल मन्दिर रहेको क्षेत्रमा १४ सय ७९ वर्गमिटर र मन्दि नजिक सेरा खेत ४८ हजार ३ सय वर्गमिटर मात्र रहेको प्रमाण छ। बाँकी करिब १ सय ८ रोपनी व्यक्तिका नाममा पुगेको पाइन्छ।‘केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै लैजाने गर्दा गुठीको जग्गा मासिँदै गएको पाइयो’, उक्त गुठीका उपाध्यक्ष दया खत्रीले भने, ‘फिर्ता ल्याउन मुद्दा प्रक्रियामा समेत गइएको छ।’सोही गुठीका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले पनि ठूलो मात्रामा जग्गा व्यक्तिले नामकरण गरिसकेको बताए। ‘नापीका बेला आफ्नो नाममा गरेका रहेछन्, धेरैपछि रहस्य थाहा हुन्छ’, उनले भने। हिमाली जिल्लामा खसहरूको पहिचान रहेको जुम्लाको चन्दननाथ गुठीको रैकर जग्गा पनि बेहिसाब छ। कुडारीमा १ लाख १९ हजार ४ सय ५२ वर्गमिटर, कनकासुन्दरीमा २६ हजार २ सय ३५ वर्गमिटर, तलिहुममा २ लाख ३१ हजार ३ सय ३१ वर्गमिटर, कार्तिकस्वामिमा ४० हजार २ सय २४ वर्गमिटर,

चन्दननाथ मन्दिरको जग्गामा अवैध रूपमा चलाइएको रेस्टुरेन्ट। तस्बिर : प्रकाश उपाध्याय

चन्दननाथमा ७० हजार ६ सय ६८ वर्गमिटर, पटमारामा ९० लाख ४ हजार ७ सय ८८ वर्गमिटर, देपालगाँउमा ४८ हजार ५८ सय ६९ वर्गमिटर, गज्यङकोटमा ८६ हजार ७४ वर्गमिटर, महतगाँउमा ८९ हजार ४ सय ७६ मिटर, बड्कीमा ११ लाख ५६ हजार १ सय ८८ वर्गकिलोमिटर त्यस्तो जग्गा छ। त्यसको कुत भने मन्दिरले अति कम मात्रामा पाउने गरेको छ। धेरैले तिर्ने गरेका छैनन्। जुम्ला बजारकै बीचमा रहेको र महँगो भएकाले धेरैको आँखा गुठीकै जग्गामा जाने गरेको छ। धेरैले कम समयका लागि जग्गा भाडामा लिने धेरै समयसम्म नछाड्ने गरेको पाइएको छ। कसैले स्थायी भौतिक संरचना बनाएका छन्।

अवैध रेस्टुरेन्ट
जिल्ला सहकारी संघले स्याउ ग्रेडिङ मेसिन सञ्चालन गर्ने भनी ०७२ फागुन २० गते मन्दिरको जग्गा भाडामा लियो। उसले मेसिन राख्न भवन पनि बनायो। तर, स्याउ ग्रेडिङ मेसिन राखेन। बरु उल्टै एप्पल रेष्टुराँलाई भाडामा लगायो। रेस्टुरेन्ट सञ्चालक चन्द्र सुनारले आफ्नै नाममा गुठीसँग सम्झौता रहेको बताए। गुठीमा भने त्यस्तो किसिमको कुनै सम्झौता देखिँदैन। उक्त जग्गा भाडामा लिने जिल्ला सहकारी संघका अध्यक्षले भने सुनारलाई जिमखाना सञ्चालन गर्न दिएको बताए। गुठीका उपाध्यक्ष खत्रीले जिल्ला सहकारीलाई स्याउ ग्रेडिङ मेसिन सञ्चालनका लागि दिएको जनाए। ‘सम्झौताको बुँदा १० मा भाडामा लिएको जग्गा सफा राख्ने, सामाजिक, धार्मिक रीति, थिति खलबल आउने कुनै पनि क्रियाकलाप गर्ने छैन भनी प्रतिबद्धता गरिएको छ’, उनले भने, ‘रेस्टुरेन्ट चलाउँदा धार्मिक कार्यविपरीत हुने भएकाले तत्काल बन्दको प्रक्रियामा लगिनेछ।’

छानबिन भयो, कार्यान्वयन भएन
गुठीको जग्गामा तीव्र अतिक्रमण भएपछि ०७१ सालमा कालीबहादुर थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले २५ जेठ ०७१ मा गुठी व्यवस्थापन समितिलाई बुझाएको प्रतिवेदनअनुसार गज्र्याङकोट तथा गुठीचौरमा ३ हजार ५ सय ७३ वर्गमिटर जग्गा अतिक्रमण गरेर ५ जनाले घर बनाएका छन्। दलजित बुढा, गंगा बुढा, कालीबहादुर बुढा, हंश बुढा, दीपबहादुर कामी र पूर्ण बुढाले गुठीको जगा हो भन्ने थाहा हुँदाहुँदै पनि घर बनाएको खुलेको छ। त्यस्तै, चन्दननाथ नगरपालिकाको कालेखोली र बजार क्षेत्रमा पनि गुठीको जग्गा अतिक्रमण भएको छ।

गुठीकै जग्गामा चन्दननाथ–३ का बिर्खबहादुर स्वाँरले घरसम्म जाने बाटो बनाएका छन्। गुठीकै जग्गामा चन्दननाथ–४ डाँडाकोटमा सार्वजनिक सडक बनाइएको छ। चन्दननाथकै प्रवीण श्रेष्ठले बारी र शौचालय, पारस महत, विनोद शेरचन र नवराज गिरीले शौचालय, पदम खत्रीले घर, बारी र शौचालय तथा प्रभा श्रेष्ठले बारी बनाएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार जग्गा अतिक्रमण गरेर वसुन्धरा नगरकोटी, तिल सुनार र दत्त सुनारले टहरासमेत बनाएका छन्। यी सबै मापदण्ड विपरीतका संरचना भएको समितिले बताएको छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?