मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी ६ अर्ब ५९ करोड कर छलेको ठहर

सर्वोच्च अदालतले भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र

कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गर्दै राजस्व न्यायाधीकरणको फैसला सदर गरेको हो ।सर्वोच्चले अरुण इन्टरकन्टिनेन्टलको दुईवटा मुद्दाको हकमा भने राजस्व न्यायाधीकरणले गरेको फैसला उल्ट्याएको छ । यद्यपी फैसलाको लिखित प्रति सार्वजनिक नभएकाले सर्वोच्चको फैसलाबारे विस्तृत विवरण भने प्राप्त भएको छैन । त्यस्तै शंकर अक्सिजन ग्यास प्रालि, एआईटी प्रालि, महेश बानियाँले पनि नक्कली बिल प्रयोग गरेर राजस्व छलेको सर्वोच्चले ठहर गरेको छ । यी कम्पनी तथा फर्महरुले नक्कली भ्याट बिलमार्फत मूल्य अभिवृद्धि कर र आयकर छलेको देखिएपछि कर प्रशासनले अनुसन्धान गरी कर निर्धारण गरेको थियो । त्यसविरुद्ध प्रशासनिक पुनरावलोकन र राजस्व न्यायाधीकरणबाट पनि विपक्षमा फैसला आएपछि व्यवसायीहरु सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले पनि राजस्व न्यायाधीकरणको फैसलालाई सदर गरेको हो ।सर्वोच्चले पुस २० गतेदेखि यी मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाई गरेको थियो । सर्वोच्चको फैसलापछि व्यवसायीहरुले कर प्रशासनले निर्धारण गरेको कर तिर्नुपर्ने भएको छ । भाटभटेनी सुपरस्टोरले २०६४ देखि २०६७ सालसम्म २२ करोड ६६ लाख रुपैयाँ कर छली गरेको भन्दै कर प्रशासनले संशोधित कर निर्धारण गरेको थियो ।

के हो नक्कली बिलको मुद्दा ?
सरकारले २०६७ पुसमा नक्कली भ्याट बिलबारे अनुसन्धान गर्न समिति गठन गरेको थियो । समितिले ५१८ वटा व्यापारिक फर्मले नक्कली भ्याट बनाएर कर छलेको फेला पारेको थियो ।उनीहरुले ३ अर्ब ७ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर र ३ अर्ब ३३ करोड रुपैयाँ आयकर छलेका थिए । यस्तै २० करोड ५० लाख रुपैयाँ अन्तःशुल्क पनि उनीहरुसँग उठाउनुपर्ने निश्कर्ष समितिको थियो । सरकारले कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर छलिएको ठहर गर्दै कर निर्धारण गरेको थियो ।तर, सरकारले निर्धारण गरेको करका विरुद्ध डेढ सयभन्दा बढी व्यवसायी मुद्दा लिएर राजस्व न्याधीकरणमा मुद्दा लिएर गएका थिए । न्यायधीकरणले सरकारको कर निर्धारण र जरिवाना सही भएको फैसला गरेको थियो । त्यसपछि व्यवसायीहरु सर्वोच्च गएका थिए ।

कर छली गर्नेमा सबैभन्दा अघि भाटभटेनी सुपर मार्केट रहेको थियो । उसले नक्कली भ्याट बिल बनाउने गरेको पुष्टि २०६७ माघ १९ गते भाटभटेनी डिपार्टमेन्ट स्टोरमा छापा मार्दा बरामद गरेको कागजातले पुष्टि गरेको थियो ।भाट भटेनीले २०६४ साउनबाट २०६७ माघसम्म भ्याट, थप दस्तुर ब्याज र जरिवाना गरी २२ करोड ६७ रुपैयाँ कर तिर्नेपर्ने निर्णय कर प्रशासनले गरेको थियो । सरकारले अन्याय गरेको भन्दै उसले राजस्व न्यायधीकरणमा मुद्दा लिएर गए पनि उसको विपक्षमा फैसला भयो । त्यसपछि ऊ सर्वोच्च गएको थियो ।एआईटीमा पनि सरकारले २०६६ पुस ११ गते छापा हानेको थियो । यो कम्पनीले कर छलेको १ करोड २४ लाख ९५ हजार रुपैयाँ कर निर्धारण भएको थियो ।

अरुण इन्टरकन्टिनेन्टलले पनि ५० लाख १६ हजार रुपैयाँ भ्याट छलेको भेटाएको थियो । यस्तै बीएस बानियाँ स्टोर्स एन्ड फर्मका सञ्चालक महेश बानियाँले ५७ हजार ५४८ रुपैयाँ कर र त्यति नै जरिवाना तोएिको थियो । शंकर अक्सिजनले २२ लाख १३ हजार रुपैयाँ कर छलेको पुष्टि भएको छ ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?