मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अदालत मा रोशनीको यस्तो जवाफ ! महरालाई धरौटीमा छाड्न अस्वीकार

ललितपुर /हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्। उनकै जाहेरीका आधारमा क र णी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो।

उनी साढे ११ बजेतिर अदालतमा पुगेकी थिइन्। उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही समयपछि उनी सिधै इजलासतर्फ लागिन्। कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो। अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए। न मुहारमा चमक देखिन्थ्यो। उनी कसैसँग बोलिनन्। निराश अनि गम्भीर भावभंगीमा इजलासमा बसिरहिन्। अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन्।

महराविरुद्धको मुद्दामा दिनभर सुनुवाइ चलेको थियो। उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन्। उत्सुकताका साथ बहस सुनिन्। अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिएकी थिइन्। उनलाई इजलासबाट ‘तपाईंको केही भन्नु छ ? ’ भनेर सोधिएको थियो। जवाफमा उनले आफूलाई ‘के के भयो भयो ? ’ मात्र भनिन्। ‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो। उनी भावुक बनेकी थिइन्। आफ्ना कुरा राखेर उनी बाहिरिएकी थिइन्। अदालतबाट बाहिरिएको डेढ घण्टापछि मात्रै इजलासबाट महरालाई थुनामै राख्ने आदेश आयो।

मुद्दामा सुनुवाइ चलिरहँदा अदालत परिसरमा महरातर्फका आफन्त र शुभेच्छुकको आउजाउ बाक्लो थियो। अदालतभित्र प्रवेश गर्न सुरक्षाकर्मीले प्रवेशद्वारमा कडा सुरक्षा जाँच गरेका थिए। कडा सुरक्षाबीच बन्द इजलासमा सुनुवाइ चलिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि पुगेका थिए। राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी, पत्रकार र सर्वसाधारणले उत्सुकतापूर्वक आदेशको प्रतीक्षा गरेका थिए। अन्नपूर्ण पोस्टमा यो खबर नितु घलेले लेखेका छन् ।

महरालाई धरौटीमा छाड्न अस्वीकार
उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले आज निवर्तमान सभामुख महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि महरालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो ।

आदेशमा भनिएको छ, “मुलुकी फौजदारी संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पपक्षका लागि थुनामा राख्ने गरी त्यस अदालत (काठमाडौँ जिल्ला अदालत) बाट भएको आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन ।”

संसद् सचिवालयमा कार्यरत कर्मचारीलाई करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहनुभएका महरा सो आदेशपछि थुनामै बस्नुपर्नेछ । गत मङ्सिर ५ गते महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाऊँ भन्ने आग्रहसहित उच्च अदालतमा निवेदन दर्ता गर्नुभएको थियो । प्रतिवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । सो अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?