मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

अमेरिकामा ‘सम्पर्कविहीन’ उपमेयरबारे थप रहस्य यस्तो छ ! हेर्नुहोस्

काठमाडौं । कालिकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली अमेरिकामा लुकेको खबर केही दिनअघि सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भयो । तर, आइतबार उनले फेसबुकमा स्टाटस लेख्दै आफू त्यहाँ लुकेको नभई बिरामी परेकाले नेपाल फर्किन नसकेको दावी गरेकी

छन् । उनको दाबीले सञ्चार माध्यममा आएका समाचारको विश्वसनीयतामा प्रश्न उठाएको छ । तर, उनको भनाइलाई पनि आँखा चिम्लेर पत्याइहाल्ने स्थिति छैन । यसबारे सरकारले नै खोजीनिती गर्नुपर्ने देखिन्छ । किनकि, उपमेयरजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति विदेशमा सम्पर्कविहीन बस्नु सामान्य विषय होइन । यसले देशकै प्रतिष्ठामा आँच पुर्‍याउन सक्छ । सीटी म्यानेजमेन्ट एसोसिएसन (आईसीएमए) ले आयोजना गरेको सम्मेलनमा सहभागी हुन नेपालबाट अमेरिका गएकी थिइन् । सो सम्मेलनमा उनीसँगै धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना र नगरपालिका संघका कार्यकारी सचिव कलानिधि देवकोटा पनि सहभागी भएका थिए । आईसीएमए विश्वभरका नगरपालिका व्यवस्थापकहरुको छात्रा संगठन हो । यसको वार्षिक सम्मेलन यसपाली अमेरिकाको दक्षिणी इलाकामा अवस्थित शहर टेन्नेसीमा अक्टोबर २० देखि २४ सम्म आयोजना भएको थियो । ढुंगाना र देवकोटा कात्तिक १ गते सँगै कोरिया हुँदै अमेरिका गएका थिए । उपमेयर दन्तालाई आफूहरुले त्यहाँ उपस्थित जनप्रतिनिधिहरुलाई राखिएको होटलमै भेटेको ढुंगानाले अनलाइनखबरलाई बताए ।

‘हामी पुग्नुभन्दा एक–दुई दिन अगाडि उहाँ पुगिसक्नुभएको रहेछ,’ उनले भने, ‘त्यहाँ हामी ४ दिन एउटै होटलमा बसेका हौं ।’
उक्त सम्मेलनमा सहभागी हुँदा आफूहरुले दन्तामा कुनै स्वास्थ्य समस्या नदेखेको ढुंगानाले बताए । उनका अनुसार २४ तारिखमा सम्मेलन सकिएपछि तीनैजना छुट्टिएर फरक–फरक गन्तव्यतर्फ लागेका थिए । ढुंगाना बोस्टन र कलानिधी फ्लोरिडातर्फ गएका थिए भने दन्ता न्यूयोर्क जान भनी हिँडेकी थिइन् । ‘नेपाल फर्किन तीन दिन बाँकी रहेकाले हामी आ–आफ्ना चिनजानका मानिसहरु भएको ठाउँमा गयौं । उहाँले न्यूयोर्कमा आफ्नी फुपू भएको र उहाकहाँ जाने बताउनुभएको थियो,’ ढुंगानाले भने । तर, दन्ताका भाइ कविराजले भने अमेरिकामा आफूहरुको कोही पनि आफन्त नभएको बताएका छन् । उपचार गर्न ५ महिना लाग्ने भने पनि नेपाल फर्किने विषयमा चाहिँ दन्ताले केही उल्लेख गरेकी छैनन् । यसबाट उनीमाथि आशंका गर्ने ठाउँ बाँकी रहेको छ । उपचारपछि नेपाल फर्किन्छु भनेर लेखेको भए सम्भवतः उनको भनाइ विश्वसनीय मानिने थियो । उनले भने, ‘मैले चिनेको अमेरिकामा कोही पनि हुनुहुन्न । उहाँको चिनजानको कोही होला ।’

यसबीचमा दिदीसँग सम्पर्क भइरहे पनि उनी कहाँ बस्छिन् भन्ने नसोधेको कविराजको भनाइ छ । उनले दिदी अमेरिकामा लुकेको नभई बिरामी भएर स्वास्थोपचार नै गरिरहेको दावी गरे । ‘हिजो उहाँको फेसबुक स्टाटस आएपछि पनि फोन गरेको थिएँ । मिडियामा आएका समाचारहरुले गर्दा निकै तनावमा हुनुहुँदोरहेछ । राम्ररी बोल्न पनि सक्नुभएन,’ कविराजले भने । दिदीले अस्पतालमै भर्ना भएर उपचार गराइरहेकी छिन् वा कसैको घरमा बसेकी छिन् भन्ने पनि थाहा नभएको उनले बताए । ‘उहाँ राम्रोसित बोल्न सक्ने अवस्थामा नभएकाले मैले धेरै सोधखोज गरिनँ,’ उनले भने । आफूले नेपाल फर्किनुअघि दन्तासँग म्यासेन्जरमा कुरा गरेको नीलकण्ठका मेयर ढुंगानाले बताए । उनी भन्छन्, ‘न्यूयोर्क गएपछि सम्पर्क हुँदा उहाँले बिरामी परेको भन्नुभएको थियो । घर जाने कुरा गर्दा पहिले ७ गते फर्किन्छु भन्नुभयो, पछि १२ गते भन्नुभयो । तर, किन हो फर्किनुभएको छैन । ढाँट्ने मान्छेलाई के लाग्छ र ? बिरामी नै हुनुहुन्छ कि अरु कारण हो थाहा भएन ।’ ढुंगाना र देवकोटा पनि अमेरिकाबाट अलग–अलग फर्केका थिए । नेपाल फर्केपछि दन्तासँग सम्पर्क नभएको ढुंगानाले बताए ।

दन्ताले आफ्नो स्टाटसमा बिरामी रहेको बताए पनि के समस्या भएको भन्ने चाहिँ खुलाएकी छैनन् । स्वास्थ्यका बारेमा उनले लेखेकी छिन्, ‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ । अलिअलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतका डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ । म पूर्णरुपमा निको हुन अझै समय लाग्छ । ५ महिना भनेको छ,’ दन्ताले लेखेकी छन् । भाइ कविराजले भने दिदीको ढाडको नशा च्यापिएको बताएका छन् । उनले भने, ‘उहाँले केही दिनअगाडि मलाई ढाडको नशा च्यापिएकाले हिँडडुल गर्न नसकेको बताउनुभएको थियो । उहाँको ढाडको समस्या पुरानै हो ।’ उपचार गर्न ५ महिना लाग्ने भने पनि नेपाल फर्किने विषयमा चाहिँ दन्ताले केही उल्लेख गरेकी छैनन् । यसबाट उनीमाथि आशंका गर्ने ठाउँ बाँकी रहेको छ । उपचारपछि नेपाल फर्किन्छु भनेर लेखेको भए सम्भवतः उनको भनाइ विश्वसनीय मानिने थियो ।

डीभी पर्दा गइनन्
२०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट लडेकी थिइन् दन्ता । उनी कांग्रेसकी उम्मेदवारलाई हराउँदै उपमेयर बनेकी हुन् । दन्ताले एक हजार ८ सय ४३ भोट ल्याएकी थिइन् भने कांग्रेसकी लक्ष्मी शाही एक हजार २६ मत ल्याएर पराजित भइन् । मेयरमा निर्वाचित रतन शाही पनि माओवादी केन्द्रकै उम्मेदवार थिए । उपमेयरमा निर्वाचित भएयता उनको कार्यसम्पादन सन्तोषजनक नै रहेको मेयर शाही बताउँछन् । ‘उहाँ शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुहुन्थ्यो, हाम्रो तालमेल मिलेकै थियो,’ उनले भने । काठमाडौंको पद्मकन्या क्याम्पसबाट बीबीएस पास गरेकी दन्ता अविवाहित हुन् । १५ वर्षको उमेरदेखि उनी माओवादी राजनीतिमा लागेकी थिइन् । उनी केही समय जनयुद्धमा पनि संलग्न भएको भाई कविराजले बताए ।

स्मरणीय के छ भने दन्तालाई सन् २०१८ मा अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) परेको थियो । डीभी भर्नुको अर्थ उनी अमेरिकामा सेटल हुन इच्छुक थिइन् भन्ने बुझिन्छ । तर, उपमेयरमा जितेपछि उनले अमेरिका मोह त्यागिन् । डीभी परे पनि प्रक्रिया अगाडि नबढाएको कविराज बताउँछन् ।
‘यदि दिदीले अमेरिकामा सेटल हुन चाहेको भए त्यो भन्दा राम्रो मौका अरु कुन हुन सक्थ्यो ?’ उनले प्रश्न गरे, ‘देशमै केही गर्छु भनेर उहाँले डीभीको प्रक्रिया नै अगाडि बढाउनुभएन । दन्ता हाल नेपाल कम्युनिष्ट पार्टीको नगर कमिटी सदस्य छिन् । उनले आईसीएमएको सम्मेलनका लागि अमेरिका जान पहिलोपटक एप्लाई गर्दा अमेरिकी दुतावासले भिसा दिएन । त्यसपछि उनले मन्त्रालयमा सोर्स लगाइन् । तत्कालिन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर परराष्ट्रमा पत्र पठाए । त्यही पत्रबमोजिम परराष्ट्रले अमेरिकी दूतावासमा सिफारिस गर्‍यो र बल्ल उनले भिसा पाइन् । नगरपालिका संघका कार्यकारी सचिव देवकोटासँग अमेरिकाको मल्टिपल भिसा भएकाले उनलाई समस्या थिएन । नीलकण्ठका मेयर ढुंगानासित भएको मल्टिपल भिसाको म्याद सकिएको थियो । उनले आवेदन गर्नासाथ भिसा पाएका थिए ।

दन्तासहित तीनैजना आफ्नै खर्चमा अमेरिका गएका हुन् । होटलमा बस्ने र खाने व्यवस्था चाहिँ आयोजकले मिलाएको थियो । ढुंगानाले भने, ‘जाने–आउने प्लेन टिकट हामीले आफ्नै खल्तिबाट व्यहोरेका हौं । सायद उहाँको पनि त्यही होला ।’ तिलागुफाका मेयर शाहीले पनि उपमेयरलाई अमेरिका पठाउन नगरपालिकाले कुनै खर्च नगरेको बताए । ‘उहाँले हामीसँग सल्लाह गरेरै जानुभएको हो । तर, नगरपालिका संघले यस्तो भ्रमणमा नगरपालिकाहरुलाई भार नपार्ने भनेपछि उहाँहरु आफैंले खर्चको बन्दोबस्त गर्नुभयो, हाम्रो पैसा परेको छैन,’ उनले भने । आफ्नो स्टाटसमा दन्ताले लेखेकी छन्, ‘अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको होइन । मैले पनि बारम्बार माग्नेजस्तो कति चोटि कल गर्नु ? मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारम्बार भिख मागिनँ । मैले सोचेँ, म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिनँ पनि । मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वतजी नेपाली/कालीप्रसाद पाण्डे दाजु, सुनिता पाण्डेले हाल्नुभएको हो । सरकारको सुका पैसा पनि मलाई चाहिएन भनेकै हो ।’

भाइ कविराजका अनुसार काठमाडौं बस्ने ठूलोबुबाका छोराहरु र केही साथीभाइले उनलाई सहयोग गरेका थिए । परिवारबाट पनि एक–डेढ लाख जुटाएको उनले बताए । कात्तिकदेखि अमेरिकामा रहे पनि हालै राष्ट्रिय सभा चुनावमा भोट हाल्नुपर्ने भएकाले बल्ल उनको खोजीनिति भएको थियो । तिलागुफाका मेयर शाही भन्छन्, ‘पार्टीबाट सोधखोज भएपछि मैले उहाँ डेढ महिनादेखि सम्पर्कमा नरहेको जानकारी गराएको हुँ । साथै पार्टीको नगर कमिटीले पनि उहाँलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको जानकारी पार्टी केन्द्रलाई दिएको छ ।’

नगरपालिका संघ भन्छ : खोजिनीति गर्छौं
देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले उपमेयर दन्ताको विषयमा औपचारिक केही बोलेको छैन । यस विषयमा हामीले संघका अध्यक्ष अशोक ब्याञ्जुसित जिज्ञासा राख्दा उनले यसबारे खोजीनिति गर्ने बताए । ‘उहाँको विषयमा समाचारहरु आएपछि ४/५ दिन अगाडि मैले उहाँलाई म्यासेन्जरमा सन्देश पठाएको थिएँ । मैले उहाँलाई चाँडै देश फर्किन आग्रह गरेको छु । तर, उहाँबाट अहिलेसम्म कुनै जवाफ आएको छैन । केही न केही समस्या हुनुपर्छ,’ ब्याञ्जुले भने । उपमेयरजस्तो व्यक्ति अर्को देशमा गएर सम्पर्कविहीन रहनु संवेदनशील भएको ब्यान्जुले बताए । ‘मैले आज उहाँको स्टाटस पनि हेरेँ । यदि स्वास्थ्य समस्या नै हो भने पनि उहाँले स्पष्ट जानकारी दिनुपर्छ । त्यस्तोमा सरकारले पनि सहयोग गर्नुपर्ने हुन सक्छ । तर, होइन, उतै बस्ने सोच हो भने त्यसलाई ठीक मान्न सकिँदैन । त्यस्तोमा चाहिँ हामी एक्सन लिन्छौं,’ ब्याञ्जुले अनलाइनखबरसँग भने ।

तिलागुफाका मेयर शाही पनि उपमेयर दन्ता कुनैखाले समस्यामा रहेको हुन सक्ने बताउँछन् । दन्तासित पछिल्लोपटक डिसेम्बर १६ मा आफ्नो म्यासेन्जरमा सम्पर्क भएको शाहीले बताए । त्यसयता सम्पर्क गर्न खोज्दा पनि सफल नभएको उनको दाबी छ । तर, दन्ताले भने आफूले बारम्बार फोन गर्दा पनि मेयरले रेस्पोन्स नगरेको आफ्नो स्टाटसमा उल्लेख गरेकी छन् । यस विषयमा शाहीले भने, ‘हाम्रो म्यासेन्जरमा कुरा हुन्थ्यो । तर, केही समयदेखि उहाँसँग सम्पर्क हुन सकेको थिएन । उनले यो विषय केन्द्र वा प्रदेश सरकारले नै सम्वोधन गर्नुपर्ने बताए । ‘हामी आफैं अन्योलमै छौं । प्रदेश सरकारलाई र पार्टी नेतृत्वलाई जानकारी गराएका छौं । गम्भीर बिरामी हो भने उपचारका बारेमा सरकारले पनि सोच्नुपर्ने हुन्छ, यो मानवीय विषय हो,’ मेयरले भने । अनलाइनखबरले उपमेयर नेपालीसँग म्यासेन्जरमा सम्पर्क गर्ने प्रयास गर्दा सफलता हात लागेन । हामीले पठाएको सन्देशको उनले कुनै जवाफ दिएकी छैनन् ।

जनप्रतिनिधि विदेश भासिने सिलसिला
जनतालाई विभिन्न वाचा गरेर चुनाव जितेका जनप्रतिनिधि आफैं विदेश भासिनु सामान्य कुरा होइन । देश बनाउँछु भन्नेहरु नै विदेश भासिन्छन् भने अरुले के रुँगेर बस्ने भन्ने प्रश्न उठ्छ नै । यद्यपि, नेपालमा वडाध्यक्षदेखि सांसदसम्मले देश छोडेर पलायन भएका केही घटनाहरु छन् । ०४८ सालका सिन्धुलीबाट निर्वाचित कांग्रेस सांसद प्रकाश कोइराला अमेरिका भासिए । उनको त्यहीँ मृत्यु भइसकेको छ । यसैगरी, सल्यानबाट ०५६ सालमा निर्वाचित राप्रपा सांसद नेत्रलाल श्रेष्ठ पनि अमेरिका पलायन भए । उनी त्यसबेला संसद विघटन भएपछि अमेरिका गएका थिए । तर, ०६३ सालमा संसद पुनस्र्थापित भएपछि पनि फर्किएनन् । अमेरिकाबाटै उनले राजीनामापत्र पठाएका थिए । ०५१ सालमा सल्यानबाट जितेका एमाले सांसद नीलबहादुर तिलिजा अमेरिका पलायन भए । यद्यपि, उनी सांसदको कार्यकाल सकिएपछि अमेरिका गएका हुन् ।

केही समयअघि मात्रै खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष बमबहादुर घले घरविदा लिएर वैदेशिक रोजगारीमा कोरिया गएका छन् । उनले देश छाडेको एक वर्षपछि मात्रै यो खबर सार्वजनिक भएको थियो । नगरपालिकामा उनले घरायशी कामका कारण बाहिर जानुपर्ने भएकाले कार्यालयमा उपस्थित हुन नसक्ने भनेर चिठी बुझाएका थिए । हालै मात्र मकवानपुरको भीमफेदी गाउँपालिका–८ का वडाध्यक्ष डीभी परेर अमेरिका भासिए । वडा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर वडाध्यक्ष जगतमान घिसिङले गत चैत २७ गते सपरिवार देश छोडेका हुन् । अमेरिका उडेको पाँच महिनापछि मात्रै घिसिङले गाउँपालिकामा इमेलमार्फत राजीनामा पठाएका थिए । उनले समयमै हस्तलिखित राजीनामा नदिँदा उपनिर्वाचनसमेत हुन नसकेर सो वडा नेतृत्वविहीन बनेको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपाका घिसिङ ५४१ मत ल्याएर विजयी भएका थिए ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?