मेचीमहाकाली डट नेट NEWS

❣️🇳🇵सत्यतथ्य सहितको राष्ट्रको संचार ❣️🇳🇵

हावाको बिजुलीले गाउँ झिलिमिली

पाल्पा – प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर एक वर्षमा लोडसेडिङ अन्त्य गरिनेछ भनेको कुरा देशभर चर्चाको विषय बनेको थियो। हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने कुरा धेरैलाई हावादारी गफ नै लाग्छ। तर एक वर्षभित्र लोडसेडिङ अन्त्य

भए पनि नभए पनि हावाबाट बिजुली निकाल्न भने सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ, पाल्पाको निस्दी गाउँपालिका। मगर समुदायको बस्ती रहेको रुक्से भन्ञ्याङडाँडामा तीनवटा पंखा घुमिरहेका छन्। दुईवटा ठूला पंखा र एउटा सानो पंखा चलेका छन्। तर यी पंखा विद्युत्–शक्तिले चलेका होइन, हावाले घुमिरहेका हुन्। हावाले घुमाएका तिनै पंखाबाट विद्युत् उत्पादन भइरहेको छ, जसले मित्याल गाउँ नै झिलिमिली बनेको छ। निस्दी गाउँपालिका–४, मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ। गाउँपालिकाको केन्द्र रहेको रुक्से भन्ञ्याङमा हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणालीमार्फत् १० किलोवाट क्षमताको बिजुली निकालिएको छ। २०७३ मा नै यसै स्थानमा हावाबाट एक हजार दुई सय वाट विद्युत् निकालेर प्रयोग गरिँदै आएको थियो। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अध्ययनअनुसार सो ठाउँमा वायु–उर्जाको प्रशस्त सम्भावना रहेको देखिएपछि पुनः २५ किलोवाट क्षमताको विद्युत् निकालिएको हो।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार आठ सय रुपैयाँको लागतमा सो आयोजना सञ्चालन भएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार पाल्पाको निस्दी र मित्याल क्षेत्रमा सौर्य तथा वायु–ऊर्जाको प्रशस्त सम्भावना रहेको छ। यहाँ हावाबाट निस्केको बिजुलीबाट एक सय ५० घरले बत्ती बाल्न थालेका छन्। निस्दी गाउँपालिकाका रुक्से भन्ज्याङ, झ्याल्टुङ, मौलाथर, घुम्सीवर र मित्याल बजारमा विद्युत् वितरण गरिएको छ। अढाई वर्षअघि सुरु भएको सो आयोजना सम्पन्न भएर घरघरमा बिजुली–बत्ती बल्न थालेपछि स्थानीय खुसी भएका छन्। गाउँपालिकाको झ्याल्टुङ, मौलाथर, रुप्से भन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशंकर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा हावाबाट निकालिएको बिजुली उपयोग भइरहेको छ।

विद्युत् सेवा पुगेपछि विद्यालयको कामकाज गर्न सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताए। राष्ट्रिय प्रशारणको विद्युत् नभएको सो स्थानको आठ सय जनसंख्या लाभान्वित भएको सुनारीले बताए। बिहान चारदेखि सात बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत्–लाइन सञ्चालन गरिएको छ। निस्दी गाउँपालिकाको कुनै पनि स्थानमा अहिलेसम्म राष्ट्रिय प्रशारणको विद्युत् पुग्न सकेको छैन। रुक्से भन्ञ्याङमा पिडा नेपालको प्राविधिक सहयोगमा कापेक नामक संस्थाले तीन वर्षअघिदेखि हावाबाट बिजुली निकाल्दै आएको छ, जसका लागि जर्मनीको विसिन्स नामक संस्थाले समेत सहयोग पु¥याएको थियो। सो विद्युत् आठ लाख रुपैयाँको लगानीमा निकालिएको थियोे। पहिले निकालिएको विद्युत् निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र मित्याल स्वास्थ्य चौकीमा प्रयोग हुँदै आएको हेरालु बलिराम सुनारीले बताए।

हावा र सौर्य शक्तिको प्रयोगबाट विद्युत् उत्पादन सफल देखिएपछि अहिले २५ किलोवाटको विद्युत निकालिएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए। ‘निस्दीका धेरै स्थानमा हावाबाट विद्युत्को सम्भाव्यता देखिएको छ,’ अध्यक्ष सारुले भने, ‘अहिले हामीले एक सय ५० भन्दा बढी घरमा वायु–उर्जाको प्रयोगबाट विद्युतीकरण गरेका छौं। अहिलेसम्म केही ठाउँमा लघु–जलविद्युत्बाट विद्युतीकरण हुँदै आएको थियो, अब वायु–उर्जाले सहयोग मिलेको छ।’ उनले गाउँपालिकाको ४२ लाख रुपैयाँ र बाँकी वैकल्पिक उर्जाबाट २५ किलोवाट विद्युत् निकाल्न थालिएको बताए। हावा र सौर्य शक्तिको प्रयोगबाट बिजुली निकालिएसँगै वडाको काममा सजिलो भएको वडाध्यक्ष नेउबहादुर सुनारीले बताए। ‘वडामा जतिबेला पनि विद्युत् आपूर्ति भइरहेको छ,’ उनले भने, ‘कम्प्युटर तथा फोटोकपी मेसिन चलाउन र बत्ती बाल्न पाएपछि कार्यालयको काम सहज भएको छ।

जिल्ला सदरमुकाम तानसेनबाट ७४ किलोमिटर पूर्व रहेको निस्दी र मित्याल क्षेत्रमा सौर्य तथा वायु–उर्जाको अन्य सम्भावना पनि देखिएको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ। मित्यालमा हावाबाट विद्युत् निकाल्न आवश्यक संरचना बनाउने ठेक्का वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत विराटनगरको कृष्ण ग्रिल एन्ड इन्जिनियरिङले लिएको थियो। एक वर्षअगावै सक्ने लक्ष्यसहित थालिएको सो आयोजना बाहिरी मुलुकबाट सामान मगाउँदा केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारी मगरले वायु–उर्जाले यस भेगमा बसोबास गर्ने समुदायलाई प्रत्यक्ष फाइदा पुगेको बताए।

कसरी निस्कन्छ हावाबाट बिजुली
तीव्र गतिमा चल्ने हावाको वेगबाट धेरै विद्युत्–शक्ति उत्पादन गर्न सकिन्छ। सात वर्षअघि गरिएको अध्ययनअनुसार देशमा तीन हजार मेगावाट वायु–उर्जा निकाल्न सकिने सम्भावना छ। पहाडका अग्ला डाँडा र नदीको खोंचमा निरन्तर हावा चलिरहने गर्छ, जुन वायु–उर्जा कहिल्यै पनि सकिँदैन। हावाको गतिअनुसार नै विद्युत् उत्पादनह ुन्छ। यसका लागि वायु–पंखा, कन्ट्रोलर र ब्याट्री आवश्यक पर्छ। वैकल्पिक उर्जाको स्रोतको रूपमा रहेको वायु–उर्जाले न्यूनतम शक्तिका बल्ब बाल्न, टिभि हेर्न र मोबाइल चार्ज गर्न मिल्छ। अग्लो डाँडामा वायुपंखा फिटिङ गर्ने जसबाट कन्ट्रोलर हुँदै ब्याट्रीसम्म तार लैजान सकिन्छ। उक्त ब्याट्रीबाट आवश्यकताअनुसार विद्युत् प्रयोग गर्ने स्थानमा लैजान मिल्छ।

नोट : mechimahakali मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई mechimahakalidotnet@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?